फेरि केकी र आँचललाई चलचित्र बनाउने योजनामा देउजा



भदौ १७ गतेबाट प्रदर्शनमा आएको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’ले बलियो ‘वर्ड अफ माउथ’का कारण दर्शकको राम्रो साथ पाइरहेको छ । पहिलो हप्ताको व्यापारिक नतिजा सुखद् आएपछि राजधानीसहितका मल्टीप्लेक्सहरुले दोस्रो साता पनि चलचित्रलाई राम्रो शो उपलब्ध गराएका छन् । र, ‘अफ डे’मा पनि चलचित्रले हलहरुमा हाउसफुल दर्शक पाइरहेको छ ।

कथावस्तुका कारण चलचित्रले दर्शकलाई हलसम्म आकर्षित गरेको हो । एउटा शान्त र खुसी परिवार छोराहरुको विवाहपछि कसरी भताभुंग बन्छ भन्ने चलचित्रमा देखाइएको छ । यही कारण चलचित्र हेर्न हलमा परिवारसहित पुग्ने दर्शकको चाप अत्याधिक छ । चलचित्रका प्रमुख कलाकारहरु हिउँवाला गौतम, केकी अधिकारी र आँचल शर्माको अभिनयलाई निकै रुचाइएको छ ।

‘झिँगेदाउ’ सफलताको बाटोमा हिँड्न थालेपछि निर्देशक देउजाले केकी र आँचललाई लिएर अर्को नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । हालै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अब मैले आफ्नो ब्यानरबाट निर्माण गर्ने नयाँ चलचित्रमा केकी र आँचललाई छुटाउँदिनँ । उहाँहरुको व्यस्तताले सहकार्य हुन सकेन भने फरक कुरा हो । तर, म फेरि दुवैसँग सहकार्य गर्न एकदमै इच्छुक छु ।

नेपाल राष्ट्र बैंकबाट रिटायर भएपछि आफूले ७ वर्ष दर्शकको स्वाद बुझ्न अध्ययन गरेको र त्यही अध्ययनको प्रतिफल ‘झिँगेदाउ’ रहेको देउजा बताउँछन् । ‘दर्शकहरुलाई यो चिज मनपर्न सक्छ र यो ट्रिटमेन्ट गर्‍यो भने म सफल हुन्छु भन्ने हिसाबमा काम गरेको थिएँ । आज दर्शकले त्यो कुरा स्वीकार गर्दिनुभएको छ, खुसी छु,’ उनले भने । अब देउजा निर्माता छविराज ओझासँग मिलेर चलचित्र ‘जेल ब्रेकर’ बनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu