हिटको बाटोमा ‘झिँगेदाउ’



भदौ १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले यतिबेला घरेलू बक्सअफिसमा सानदार कमाई गरिरहेको छ । प्रदर्शनपूर्व खासै अपेक्षा नगरिएको यो चलचित्रले ‘कबड्डी ४’पछि हलमा दर्शकको भीड तान्न सफल भएको छ । चलचित्रले पहिलो दिन खासै राम्रो व्यापार गर्न सकेको थिएन । तर, ‘वर्ड अफ माउथ’ बलियो भएपछि चलचित्रले दोस्रो दिनबाट व्यापारमा छलाङ मार्न सुरु गर्‍यो ।

प्रदर्शनको पहिलो हप्ता चलचित्रको व्यापार उत्साहजनक रह्यो । यो अवधिमा चलचित्रले बक्सअफिसमा डेढ करोडको व्यापार गर्‍यो । दोस्रो हप्ताको शुक्रवार र शनिवार चलचित्रले व्यापारमा थप उछाल ल्याएको छ । यो दुई दिन देशभरका मल्टीप्लेक्स र सिंगल थिएटर हाउसफुल भएसँगै चलचित्रको ९ दिने कमाई २ करोड पार भएको छ । यो व्यापारिक अंक ‘कबड्डी ४’पछिकै सर्वाधिक हो ।

यो हप्ताको शुक्रवारबाट प्रदर्शनमा आएको बलिउडको ठूलो चलचित्र ‘ब्रम्हास्त्र’ले समेत चलचित्रलाई खासै असर गरेको छैन । व्यापारमा अत्याधिक वृद्धि भएपछि मल्टीप्लेक्सहरुले चलचित्रलाई दोस्रो हप्तामा पनि उच्च शो उपलब्ध गराएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘झिँगेदाउ’लाई दोस्रो हप्ताको शुक्रवार ‘ब्रम्हास्त्र’का कारण १६ शो दिएको थियो । तर, शुक्रवारको व्यापार उच्च भएपछि शनिवार केही शो थप गर्‍यो । आइतवार यो चलचित्रलाई ३० शो प्रदान गरिएको छ । यसबाट पनि चलचित्रको व्यापार राम्रो रहेको बुझ्न सकिन्छ ।

यस वर्षको हिट चलचित्र बन्ने दौडमा रहेको ‘झिँगेदाउ’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । यस चलचित्रमा हिउँवाला गौतम, संगम भण्डारी केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाललगायतको अभिनय रहेको छ । चलचित्र हेर्ने युवापुस्ताभन्दा ३५ वर्षमाथिका दर्शकहरु बढी देखिएका छन् । पारिवारिक कथामा निर्माण भएकाले परिवारसहितका दर्शकलाई चलचित्रले आकर्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu