धिरजलाई छैन स्टारडमप्रति विश्वास



चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट सम्भावना बोकेको नायकको रुपमा उदाएका धिरज मगर अभिनीत दोस्रो चलचित्र ‘बाबरी’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । पहिलो चलचित्रबाटै राम्रो स्टारडम बनाएका उनलाई ‘बाबरी’बाट आफ्नो स्टारडम थप प्रमाणित गर्नुपर्ने चुनौती छ । तर, उनलाई भने न स्टारडममा कुनै विश्वास छ न आफ्नो स्टारडम छ भन्ने लाग्छ ।

आइतवार पत्रकारसँग भेटघाटको क्रममा धिरजले भने, ‘मसँग चलचित्रको राम्रो ओपनिङ गर्ने खालको स्टारडम छ भन्ने नै लाग्दैन । मलाई व्यक्तिगत रुपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन । किनकि, यो मेरो दोस्रो चलचित्र हो । मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारको रुपमा बढी जिम्मेवारी महसुस गर्छु ।’ चलचित्र चल्नका लागि चलचित्र आफैंमा राम्रो हुनुपर्ने धिरजको तर्क छ ।

‘इन्टु मिन्टु लण्डनमा’ र ‘बाबरी’मा धिरजले निर्वाह गरेको क्यारेक्टरमा फरक छ । ‘बाबरी’मा उनले निभाएको क्यारेक्टरले त दर्शकलाई सरप्राइज नै बनाएको छ । चलचित्रमा उनले गाउँको सानो राजासाहेब अर्थात् काजीको भूमिका निभाएका छन्, जसको गेटअप र बोल्ने शैली पृथक छ । यूकेमा हुर्केका धिरज काजीको चरित्रमा आफूलाई दुरुस्त उतार्न एकदमै चुनौतीपूर्ण रहेको सम्झन्छन् ।

उनी भन्छन्, ‘चलचित्रमा मेरो क्यारेक्टर मभन्दा विल्कुलै फरक छ । म यूकेमा हुर्केकाले गाउँको सानो राजासाहेबको क्यारेक्टर गर्नु भनेको चुनौतीपूर्ण थियो । यद्यपि, कलाकारको रुपमा मैले आफूले आफूलाई एक्सप्लोर गर्न पाएँ र त्यो क्यारेक्टरलाई न्याय गर्न सकेँ भन्ने लाग्छ ।’ सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा धिरजसँगै अदिती बुढाथोकी र धिरज नाडकरको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu