असोज ७ मा नेपालीसँगै ‘प्रेमगीत ३’को हिन्दी डब पनि प्रदर्शन हुने



मल्टीस्टारर चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डब भारतसँगै नेपालमा पनि एकै मिति अर्थात् असोज ७ गतेबाट प्रदर्शन हुने भएको छ । यसअघि चलचित्रको हिन्दी डबलाई नेपाली भर्सन रिलिजको एक हप्तापछि प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, दर्शकहरुमा नेपालीभन्दा हिन्दी डबको पखाई बढी देखिएपछि दुवै भर्सनलाई असोज ७ मै प्रदर्शन गर्ने वितरक र निर्माताबीच सहमति भएको हो ।

चलचित्रका वितरक मनोज राठीले दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै नेपाली र हिन्दी डब नेपालमा एकसाथ प्रदर्शन गर्न लागेको जानकारी दिए । उनले भने, ‘यो चलचित्र जुन भाषामा डब भए पनि नेपालमा प्रदर्शन अधिकार हाम्रो हो । त्यसैले हिन्दी डब पनि हामीले नै वितरण गर्छौं । दर्शकहरु जुन भर्सनमा हेर्न चाहन्छन्, त्यही हेर्न दिने गरी दुवै भर्सन एकसाथ प्रदर्शन गर्न लागेका हौं ।’

‘प्रेमगीत ३’ले नेपालमा ‘केजीएफ २’भन्दा ठूलो ओपनिङ र कमाई गर्ने विश्वास राठीको छ । उनी अगाडि भन्छन्, ‘यो चलचित्रको जुन खालको हाइप छ, त्यसबाट चलचित्रलाई ‘केजीएफ २’भन्दा ठूलो ओपनिङ मिल्ने देखिन्छ । सम्भवतः दुवै भर्सनमा चलचित्रले कमाईमा रेकर्ड बनाउन सक्छ ।’ दर्शकहरुमा चलचित्रको पखाईलाई मध्यनजर गर्दै असोज १ गतेबाटै बुकिङ खोल्ने तयारीमा वितरक छन् ।

चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले मधेस बेल्टसँगै सिंगो कला प्रेमी दर्शकहरुको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’लाई नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन गर्ने निर्णय गरेको फेसबुकमार्फत् जानकारी दिएका छन् । अहिले उनी अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई साथमा लिएर भारतका विभिन्न ठाउँमा चलचित्रको हिन्दी डबको प्रचार गरिरहेका छन् ।

ढुंगे युगको कथामा निर्माण भएको चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, जीवन भट्टराई, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतको अभिनय छ । चलचित्रमा राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu