बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘सायरा’को निर्माण घोषणा गरिएको छ । मंगलवार होटल र्याडिसनमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रको दशैंपछि छायांकन सुरु हुनेछ । चलचित्रको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी गराइयो । भारतीय र नेपाली निर्माताले मिलेर चलचित्रको निर्माण गर्न लागेका हुन् ।

चलचित्रमा नेपाल र भारत दुवै देशका कलाकारहरुको अभिनय रहनेछ । नेपालबाट सुपरस्टार आर्यन सिग्देल र मोडल तथा डान्सर कविता नेपालीको मुख्य भूमिका रहनेछ भने भारतबाट अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ । सुफियाले एक दर्जन बढी बलिउड चलचित्रमा अभिनय गरिसकेकी छन् । चलचित्रको घोषणा कार्यक्रममा भने उनी उपस्थित हुन सकेकी थिइनन् ।
डिविआर मिडिया एन्ड मुभी प्रालीको प्रस्तुतिमा अष्ट्रेलियाको आइविल प्रोडक्सनले चलचित्र निर्माणमा सहकार्य गरेको छ । ‘वीरंगना’ फेम्ड निर्माता रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्मातामा काजीमान अत्रेय छन् भने निर्मातामा पुष्कर झा छन् । चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल चलचित्र बनाउन लागेको जानकारी दिए ।

त्यस्तै, भारतीय निर्माता पुष्कर झाले ‘सायरा’ नेपाली भाषामा निर्माण हुने तर हिन्दी डब गरेर भारतमा पनि प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार, नेपाल र भारतमा चलचित्र एकसाथ प्रदर्शन हुनेछ । आर्यनले चरित्र र टिम राम्रो लागेकाले काम गर्न तयार भएको बताए । ‘सायरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी कविताले भने चलचित्रलाई लिएर आफू उत्साहित रहेको बताइन् ।