चलचित्र प्रमोशनको बलियो प्लटेफर्म बन्दै ‘कमेडी क्लब’



‘कमेडी क्लब विथ च्याम्पियन्स’को लोकप्रियता बढेसँगै यो शोमा चलचित्रको प्रचार गर्नका लागि निर्माताहरु लोभिन थालेका छन् । सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’को स्टूडियोमा कलाकारहरुको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली चलचित्रका कलाकारहरु आफ्नो चलचित्रको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका थिए ।

केही दिन अगाडि मात्र २६ औं भाग सफलतापूर्वक सम्पन्न गर्दै केक काटेको यो शोको टिम नेपाली चलचित्रका कलाकारहरु र आम दर्शकले देखाएको मायाले उत्साहित छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने यो शोको युट्युबमा पनि हरेक भाग १० लाख भन्दा बढी पटक हेरिन थालेपछि चलचित्रकर्मीका लागि चलचित्र प्रमोशनको हब बन्न थालेको हो ।

सोमबार असोज १४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबरी’का मुख्य कलाकारहरु अदिती वुढाथोकी, धिरज मगर र धिरज नाडकर र असोजको २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हिजो आजका कुरा’का कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा र रीमा विश्वकर्मा चलचित्र प्रमोशनका लागि उक्त शोमा पुगेका थिए ।

शोका संचालक विशाल भण्डारीले मिडिया कुराकानीमा भने–‘नेपाली चलचित्र क्षेत्रले हामीलाई खुबै माया दिएको छ । विशेषगरि, निर्माताहरुले चलचित्र प्रमोशनका लागि एक महिना अगाडिबाट नै समय लिन थाल्नुभएको छ । दर्शकले दिनुभएको माया र चलचित्र क्षेत्रले दिएको विश्वासले उत्साहित छौं ।’ यो शो असारको अन्तिमसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu