चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले नेपाली चलचित्रलाई हल र शो नदिएको भनेर आफ्नो बदनाम गर्न खोजिएको बताएका छन् । उनले बोर्डसँग नेपाली र विदेशी चलचित्रलाई हल र शो बाँडफाँड गर्ने अधिकार नभएको स्पष्ट पारे । चलचित्रलाई हल र शो दिने काम बोर्डको नभए सम्बन्धित चलचित्रका वितरक र प्रदर्शकको रहेको उनको भनाई छ ।
मंगलवार एक कार्यक्रममा उनले भने- ‘बजारमा बोर्ड र भुवन केसीले नेपाली चलचित्रलाई हल र शो दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोशिश गरिएको छ । तर, नियमअनुसार बोर्डसँग चलचित्रलाई कति हल र शो दिने भन्ने अधिकार छैन । बोर्ड त चाहन्छ कि नेपाली चलचित्रले ६० प्रतिशत हल पाउनुपर्छ ।’

चलचित्रलाई हल र शो उपलब्ध गराउने काम वितरक र प्रदर्शकको भएकाले नेपाली चलचित्रलाई पहिलो प्राथमिकता दिन पनि उनले आग्रह गरे । उनी भन्छन्, ‘निर्माताले घर-खेत बेचेर चलचित्र बनाउँछन् । तर, सधैं प्रदर्शनमा समस्या आउँदा नेपाली चलचित्र माथि उठ्न सकेको छैन ।’ उनले आफू ४० वर्षदेखि नेपाली चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ भनेर लड्दै आएको बताए ।
चलचित्र क्षेत्रको विकास र विस्तारका लागि बाधक बनेका नीति तथा नियमहरु परिवर्तन र परिमार्जित गर्न आफू लागिपरेको पनि अध्यक्ष केसीको भनाई छ । ‘बोर्डले चाहेर पनि नीति-नियमका कारण काम गर्न सकेको छैन । तर, म यसलाई परिवर्तन र परिमार्जित गर्नका लागि लागिपरेको छु र समग्र कलाकर्मी र सरकारले साथ दिन्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।