निर्मात्री पुनम गौतम आफैंले ‘मारुनी २’को निर्देशन गर्ने



निर्मात्री पुनम गौतमले २०७६ सालमा प्रदर्शन भएको आफू निर्मित चलचित्र ‘मारुनी’को दोस्रो सिरिज निर्माण गर्ने तयारी गरेकी छन् । यतिबेला चलचित्रको कथा लेखनको काम भइरहेको निर्मात्री गौतमले जानकारी दिइन् । तर, कथा फाइनल भएपछि नाम ‘मारुनी २’ नहुन पनि सक्ने उनको भनाई छ ।

उनी भन्छिन्, ‘कथा लेखनको काम सकिएपछि नाम ‘मारुनी २’ नै राख्ने वा नयाँ राख्ने भन्ने टुंगो लाग्नेछ । नयाँ नाम राखियो भने पनि अर्को पटक ‘मारुनी २’ बनाउने सोचमा छु । र, दुवै चलचित्रलाई म आफैंले निर्देशन गर्नेछु ।’ दशैं अगाडि अमेरिका जाने तयारीमा रहेकी निर्मात्री गौतमले तिहारमा नेपाल फर्किएपछि चलचित्रको घोषणा गर्ने बताइन् ।

‘मारुनी’ व्यावसायिक रुपमा पनि केही हदसम्म सफल भएको र दर्शकहरुले पनि मन पराएका कारण धेरैबाट आफूलाई सिरिज बनाउन सुझाव आएको उनको कथन छ । चलचित्रभन्दा अगाडि दुईटा सर्ट चलचित्र निर्देशन गर्ने तयारीमा पुनम रहेकी छिन् । चलचित्र निर्देशन गर्नका लागि आफूले दुई वर्षदेखि तयारी गरिरहेको उनको भनाई छ ।

‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका थिए । ट्रान्सजेन्डरको कथामा बनेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ, सम्पदा बानियाँ, अर्जुन श्रेष्ठको मुख्य भूमिका थियो । चलचित्रले उठाएको कथावस्तुको सर्वाधिक प्रशंसा भएको थियो । तर, बक्सअफिसमा भने चलचित्र औसत चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu