बोर्डले बनायो स्वदेशी र विदेशी चलचित्रको सेन्सर सिफारिसको नयाँ नियम



नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले स्वदेशी र विदेशी चलचित्रको सेन्सर सिफारिसको प्रक्रियालाई व्यवस्थित गर्न कात्तिक १ गतेदेखि लागू हुने गरी एक हप्ता अगाडि नै सेन्सरका लागि दरखास्त दिनुपर्ने निर्णय गरेको छ । बोर्डले बिहीवार कान्तिपुर दैनिकमा एक सूचना प्रकाशित गर्दै यसबारेमा जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, ‘चलचित्र जाँच सिफारिस प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउनका लागि कुनै पनि स्वदेशी तथा विदेशी चलचित्रको जाँचका लागि चलचित्र विकास बोर्डमा सिफारिस लिन दरखास्त दिँदा पेश गर्नुपर्ने कागजातको अध्ययन गर्नुपर्ने भएकाले कात्तिक १ गतेदेखि स्वदेशी तथा विदेशी चलचित्र जाँच सेन्सरका लागि सम्बन्धित चलचित्रका निर्माता तथा वितरकले सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ दिन अगावै दरखास्त पेश गर्नुपर्नेछ ।’

चलचित्र निर्माण, वितरण र प्रदर्शन सम्बन्धि नियमावली २०५७ को नियम १९ मा सूचना तथा सञ्चार मन्त्रालयले तोकेको समयमा मात्र स्वदेशी र विदेशी चलचित्र प्रदर्शन गर्नुपर्ने व्यवस्था थियो । तर, अब यो अधिकार मन्त्रालयले बोर्डलाई सुम्पिएको पनि जारी सूचनामा उल्लेख छ । अब चलचित्र विकास बोर्डले नै स्वदेशी र विदेशी चलचित्रको प्रदर्शन गर्ने समय तोक्न पाउनेछ ।

त्यस्तै, चलचित्र विकास बोर्डले सूचनामार्फत् प्रदर्शकहरुलाई विहान ६ बजेदेखि बेलुका ११ बजेसम्म मात्र चलचित्रको शो निर्धारण गरेर प्रदर्शन गर्न पनि निर्देशन दिएको छ । अन्य समयमा चलचित्र प्रदर्शन गर्नुपरे जिल्ला प्रशासन कार्यालयबाट लिखित स्वीकृति लिएर लिखित जानकारी चलचित्र विकास बोर्ड र सम्बन्धित आन्तरिक राजश्व कार्यालय, करखाना सेवा कार्यालयलाई गराउनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu