‘कालोपोथी’ निर्देशक मीन भामले करीब ४ वर्ष अगाडि घोषणा गरेको चलचित्र हो, ‘चिसो वर्ष’ । उनले चलचित्रको प्रि-प्रडक्सनमै लामो समय विताइसकेका छन् । उनले स्क्रिप्ट नै २० पटकसम्म हेरफेर गरिसकेका छन् । ‘कालोपोथी’पछि आफूप्रति दर्शकको अपेक्षा बढेकाले पनि उनी ‘चिसो वर्ष’मा कुनै कमजोरी गर्ने पक्षमा छैनन् । अब भने उनी पुष-माघबाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा छन् ।
यतिबेला निर्देशक भाम चलचित्रका लागि कलाकार छनोटको प्रक्रियामा छन् । उनले दुई वर्ष अघि चलचित्रका लागि अडिसन आह्वान गरेका थिए । जसमा तिब्बतीयन नागरिक तथा गायक सोनम तोप्देनले अडिसन दिएका थिए । सोनम उनै हुन्, जसले चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट अभिनेताको रुपमा डेब्यू गरेका छन् । पहिलो चरणको अडिसनमा सोनम पहिलो नम्बरमा छनोट भए ।
फाइनल अडिसन भने कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको थियो । अब केही हप्तामा निर्देशक भाम फाइनल चरणको अडिसन लिने तयारीमा छन् । भामका अनुसार, फाइनल चरणको अडिसनका लागि सोनमसहित दुईजना छानिएका छन् । तर, पहिलो नम्बरमा सोनम रहेकाले चलचित्रमा उनकै सम्भावना बढी रहेको भाम बताउँछन् ।
‘सम्हालिन्छ कहिले मन’बाट सोनमले अभिनयमा गजबको वाहवही बटुलेका छन् । उनको लोकप्रियता पनि चुलिएको छ । ‘चिसो वर्ष’मा उनी छनोट भए सोनमले अभिनयमा आफूलाई थप निखार्ने मौका पाउनेछन् । ‘चिसो वर्ष’ले एक तिब्बती महिलाले श्रीमान खोज्न गर्ने संघर्षको कथा भन्छ ।