‘प्रेमगीत ३’लाई निशाना बनाएको भन्दै प्रदीपले मागे भुवन केसीको राजीनामा



अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई राजीनामा दिएर आफ्नो इज्जत जोगाउन सुझाव दिएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘प्रेमगीत ३’लाई निशाना बनाएर बोर्डले रातीको ११ बजेपछि चलचित्र चलाउन नपाइने निर्णय गरेकाले सर्वोच्च अदालतमा असोज २ गते हुन लागेको सुनुवाईभन्दा अगाडि नै स्वःविवेक प्रयोग गरेर राजीनामा दिए इज्जत बढ्ने बताएका हुन् ।

उनले भने- ‘मैले सुनेको थिएँ पढाई पुगेन भनेर उहाँ (भुवन केसी) विरुद्ध मुद्धा परेको छ रे । पढाई एक हिसाबले राम्रै हो । तर, पढाईभन्दा अनुभव महत्त्वपूर्ण हुन्छ भनेर मैले बारम्बार भन्दै आएको हो । उहाँको चलचित्र क्षेत्रमा २०औं वर्ष योगदान छ । तर, आज म भन्छु कि उहाँको असोज २ गते सुनुवाई हुँदैछ, त्योभन्दा अगावै स्वःविवेक प्रयोग गरेर राजीनामा दिँदा तपाईंको इज्जत बढ्छ ।’

‘प्रेमगीत ३’ रिलिजको संघारमा साँझको ११ बजेसम्म मात्र शो निर्धारण गर्नुपर्ने सूचना जारी हुनुले कतै आफूमाथि प्रहार त भइरहेको छैन भन्ने महसुस भएको प्रदीपले बताए । क्लबहरु विहान ४ बजेसम्म खुल्न पाउने तर फोन पनि साइलेन्ट गरेर चलचित्र हेर्नुपर्ने ठाउँमा ११ बजेपछि शो चलाउन नपाउने नियम दिमाग नभएको मान्छेले बनाएको भन्दै प्रदीपले बोर्ड अध्यक्ष केसीप्रति कटाक्ष गरे ।

‘मैले आजसम्म ममाथि कोही लाग्यो भनेर भनेको छैन । तर, आज मलाई लागेको छ कि कहिँ कतै ममाथि नै प्रहार भइरहेको त होइन ? ठ्याक्कै हाम्रो चलचित्र रिलिज हुन लाग्दा नियम परिवर्तन हुने अनि विकास शुल्क भनेर १५ प्रतिशत तिर्नुपर्ने । केही समय अगाडि बोर्डले हामीलाई यिनीहरुले १५ प्रतिशत विकास शुल्क दिन लागेको भनेर सम्मान गरेको रहेछ कि के हो ?’ उनले भने ।

उनले बोर्ड अध्यक्षबाट भुवन केसीलाई अदालतले हटाउने पनि आशय व्यक्त गर्दै बोर्डको जागिर स्थायी नभएको बताए । उनले भने, ‘राजालाई त हटाए भने बोर्डको जागिर स्थायी हो र ? त्यो मुद्धाको अदालतमा निर्णय हुँदैछ । म यही छु नी । अझै १०-२० वर्ष इन्डस्ट्रीमा नै रहन्छु । उहाँलाई त्यहाँबाट निस्कनु छैन र ? अरुबाट निर्देशित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक नै छैन ।’

बिहीवार बोर्डमा भएको छलफलमा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली चलचित्र सरह सुविधा माग्नेलाई देशद्रोहीको मुद्धा लगाउनु पर्ने अभिव्यक्ति दिएका थिए । यसको जवाफमा प्रदीपले निर्माता संघ अर्को खोल्न सक्ने चेतावनी दिए । त्यस्तै, उनले आफूले बोलेको कुराले भोलीका दिनमा चलचित्र नपाए नगर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu