दीपक-दीपाको समुहले बलमिच्याइ गर्न खोजेको ‘परस्त्री’ निर्मात्रीको आरोप



आगामी फागुन १९ गते नेपाली चलचित्रबीच ठूलो भिडन्त हुने देखिएको छ । पछि भागाभाग नभए उक्त मितिमा चार चलचित्र प्रदर्शन हुनेछन् । यो मितिलाई तीन चलचित्र ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ले प्रदर्शन तोकिसकेको अवस्थामा शुक्रवार चलचित्र ‘छक्का पञ्जा ४’ले पनि यही मिति रोज्यो । ब्रान्ड चलचित्र भिड्न आएपछि अन्य तीन चलचित्रका निर्माताको रुवाबासी सुरु भएको छ ।

फागुन १९ गते तीन चलचित्र लाग्दैछ भन्ने जान्दा जान्दै त्यही मितिमा प्रदर्शन तोकेर ब्रान्डको नाममा तर्साउन खोजेको आरोप दीपकराज गिरी समुहलाई लागेको छ । शुक्रवार ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारले ब्रान्डको नाममा नतर्साउन चेतावनी नै दिए । ‘परस्त्री’की निर्मात्री शर्मिला पाण्डेले पनि आफ्नो चलचित्रसँग ‘छक्का पञ्जा ४’ भिड्न आएपछि आइतवार फेसबुकमा स्टाटस लेख्दै आक्रोश पोखेकी छन् ।

आफ्नो फिल्मसँग अरु चलचित्र आएर भिड्न लाग्नु निरन्तर चलचित्र निर्माण गरिरहेको आफ्नो टिमलाई हतोत्साही बनाउन र चलचित्र उद्योगलाई धरासाही बनाउन गरिएको खेल रहेको बताउँदै उनले लेखेकी छन्, ‘हामी हाम्रो चलचित्रलाई घोषित मिति फागुन १९ मै प्रदर्शन गर्ने कुरा जानकारी गराउँछौं र नेपाली चलचित्र प्रदर्शनमा हुने गरेको बलमिच्याइको बारेमा उचित व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले गर्ने काम के हो त्यो पनि हामी नियाली रहेका छौं ।’

यो चलचित्रलाई निर्मात्री पाण्डेका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् भने कोशिश क्षेत्री र शिल्पा मास्केको मुख्य भूमिका रहेको छ । निरज पाण्डेको छायांकन रहेको चलचित्रले एक विवाहित पुरुषको अफेयरको कथा वाचन गर्ने बताइएको छ । गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतको पनि चलचित्रमा अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu