आगामी मार्च १२ का दिन आइतबार अमेरिकाको लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त चलचित्रमध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक चलचित्रकर्मीलाई २०७९ भदौ ३० गतेभित्र चलचित्र बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।
समितिले प्राप्त तीन चलचित्रमध्ये चलचित्रको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली “कपील”, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् ।