१५ प्रतिशत विकास शुल्क तिर्ने गरी ‘प्रेमगीत ३’को हिन्दी डबलाई सेन्सर अनुमति



चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबले नेपालमा १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने भएको छ । बुधवार चलचित्र विकास बोर्डले चलचित्रको हिन्दी डबलाई १५ प्रतिशत विकास शुल्क तिर्ने गरी सेन्सर अनुमति दिएको छ । बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रका निर्माता र वितरक द्वय मनोज राठी र गोविन्द शाहीलाई विकास शुल्क तिर्ने गरी सेन्सर अनुमतिको कागजपत्र हस्तान्तरण गरे ।

साथै, चलचित्रका वितरकले भन्सार शुल्क बापत २० हजार रुपैयाँ समेत तिरेका छन् । अब, चलचित्रको हिन्दी डबले नेपालमा गरेको कमाईको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्नेछ । विदेशी चलचित्रले मात्र १५ प्रतिशत शुल्क तिर्नुपर्ने नियम छ । नेपाली ‘प्रेमगीत ३’ले भने यो शुल्क तिर्नु पर्दैन । विकास शुल्कको विवाद मिलेपछि बोर्ड अध्यक्ष र वितरकहरुले एकसाथ तस्विर समेत खिचाएका छन् ।

भदौ २९ गते ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्नका लागि नेपाली चलचित्र सरह सेवा-सुविधा दिन निर्माताले चलचित्र विकास बोर्डमा निवेदन बुझाएका थिए । यसपछि चलचित्र क्षेत्र दुई कित्तामा बाँडिएको थियो । कसैले हिन्दी भाषामा डब भएकाले नेपाली चलचित्र सरह सेवा-सुविधा दिन नहुने तर्क राखेका थिए भने कसैले नेपाली चलचित्र सरह सेवा-सुविधा दिनुपर्ने बताएका थिए ।

नेपाली चलचित्र सरह सुविधा लिन अरु भाषामा डब गर्नुअघि बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । तर, ‘प्रेमगीत ३’का निर्माताले हिन्दी भाषामा डब गर्नुअघि बोर्डबाट अनुमति लिएका थिएनन् । जसले गर्दा उक्त चलचित्रलाई नेपाली फिल्म सरह सुविधा अर्थात् १५ प्रतिशत विकास शुल्क मिनाहा गर्न बोर्डको हात बाँधिएको थियो । अन्ततः बोर्डले ‘प्रेमगीत ३’को हिन्दी डबलाई हिन्दी भाषा मानेर सेन्सर अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu