‘महापुरुष’मा स्तरीयता र व्यापारिक धार दुवै छ : हरिवंश आचार्य



मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महजोडीले अभिनय गरेको चलचित्र ‘महापुरुष’ भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । गम्भीर विषयमाथि निर्माण भएको यो चलचित्रलाई ‘जात्रा’ सिरिज र ‘शत्रु गते’का निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । महजोडीको अभिनय र प्रदीप भट्टराईको निर्देशन रहेकाले पनि यो चलचित्रप्रति अपेक्षा उच्च छ ।

हरिवंश आचार्य ‘महापुरुष’ स्तरीयता र व्यापारिक धार दुवैको समिश्रण रहेको बताउँछन् । मंगलवार चलचित्रको दोस्रो गीत रिलिज कार्यक्रममा उनले भने- ‘नेपाली चलचित्रको स्तर र बजार बढ्दै गएको छ । बजारमा अहिले बिच्चको धारको चलचित्रको आवश्यकता छ । बिच्चको भनेको स्तरीयता पनि छाड्नु भएन र व्यापारिक धार पनि छाड्नु भएन । ‘महापुरुष’ यी दुवै धारमा बसेर बनेको छ ।’

मह सञ्चारबाटै चलचित्र मेकिङको ज्ञान लिएका प्रदीप भट्टराईसँग महजोडीले यसअघि चलचित्र ‘शत्रु गते’मा सहकार्य गरेका थिए । ‘महापुरुष’ उनीहरुको दोस्रो सहकार्य हो । निर्देशनमा आफूलाई प्रमाणित गरिसकेको निर्देशकको टिममा आफूहरु पर्न पाउँदा खुसी लागेको हरिवंश बताउँछन् । उनले निर्देशक भट्टराई नेपाली चलचित्रका लागि काम लाग्ने मान्छे रहेको भन्दै प्रशंसा पनि गरे ।

निर्देशक भट्टराईले भने समाजभित्र जगडिएको मान्यतालाई चलचित्रले भत्काउन प्रयास गर्ने बताए । ‘चलचित्रमा ग्रोथ हुँदै जानुपर्छ भन्ने हिसाबमा ‘महापुरुष’ बनाएका छौं । हामी रमाइलो चलचित्र बनाउने मान्छे भनेर चिनिएकाले चलचित्रमा त्यसलाई पनि छाडेका छैनौं । समाजभित्र जगडिएको मान्यतालाई भत्काउने चलचित्र हो यो । त्यो चिज भत्कियो भने हामी सफल भएको ठान्ने छौं,’ प्रदीपले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu