असोजको २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ नम्बरी’को प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन् । चलचित्रको छायांकन सकेर भुटान फर्किएकी उगेन बिहीवार बिहान नेपाल आइपुगेकी हुन् ।
चलचित्रका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन । तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रमा उगेनको जोडीको रुपमा नायक दयाहाङ राइले काम गरेका छन् ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङलगायतको अभिनय छ । यो चलचित्रलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । ‘२ नम्बरी’को टिजर हिट भैसकेको छ । २ साथीको मित्रताको कथामा यो चलचित्र बनेको निर्माणपक्षले बताएको छ ।