‘प्रेमगीत ३’को हिन्दी डब शुक्रवारबाट नेपालमा प्रदर्शन नहुने



चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डब शुक्रवारबाट नेपालमा प्रदर्शन नहुने भएको छ । बिहीवार निर्माण कम्पनी आशुसेन फिल्मस्ले एक सूचना जारी गर्दै विभिन्न प्राविधिक कारणले चलचित्र सोमवार घटस्थापनाबाट मात्र रिलिज हुने जानकारी गराएको छ । शुक्रवारबाट चलचित्रलाई रिलिज गर्न नसक्ने स्थिति सृजना गराइएको र त्यसको वास्तविकता पछि जानकारी नगराइने सूचनामा उल्लेख छ ।

निर्माण टिमले प्राविधिक कारण भन्दै घटस्थापनाबाट मात्र चलचित्रको हिन्दी डब नेपालमा प्रदर्शन हुने जानकारी गराए पनि यथार्थमा निर्माण कम्पनी आशुसेन फिल्मस्ले कर चुक्ताको प्रमाणपत्र पेश गर्न नसकेका कारण चलचित्र विकास बोर्डले सेन्सर सिफारिस रोकेपछि चलचित्र शुक्रवारबाट प्रदर्शनमा आउन नसकेको हो । निर्माण कम्पनीले केही वर्षदेखि कर चुक्ता नगरेको बुझिएको छ ।

नेपाली भर्सनको बेला निर्माण टिमले पछि कर चुक्ताको प्रमाणपत्र पेश गर्ने सर्तमा बोर्डबाट सेन्सर सिफारिस लिएको थियो । तर, हिन्दी डबका लागि पनि निर्माण कम्पनीले कर चुक्ताको प्रमाणपत्र पेश नगरेपछि बोर्डले चलचित्रको सेन्सर सिफारिस रोकेको हो । चलचित्रको हिन्दी डब घटस्थापनाबाट प्रदर्शनमा आउने भएपनि नेपाली भर्सन भने शुक्रवारबाट नै देशव्यापी प्रदर्शनमा आउनेछ ।

त्यस्तै, ‘प्रेमगीत ३’को हिन्दी डबलाई बोर्डले विदेशी चलचित्र मान्दै १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने नियम लगाएकोमा सूचना तथा सञ्चार मन्त्रालयले भने हिन्दी डबलाई पनि नेपाली चलचित्र मानेको छ । नेपाली कम्पनीको निर्माण, नेपाली कलाकारको अभिनय र नेपालमा छायांकन भएकाले विदेशी चलचित्र मान्ने आधार नदेखिएपछि मन्त्रालयले १५ प्रतिशत विकास शुल्क तिर्नु नपर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu