भारतीय अभिनेता तथा निर्देशक विशाल देसाईंले नेपाली चलचित्र ‘सायरा’ निर्देशन गर्दैछन् । ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईंले बालकलाकारको रुपमा धेरै भारतीय चलचित्रमा काम गरेका छन् । उनले ‘चुपके चुपके’, ‘अपनापन’, ‘अम्बर अकबर एन्थोनी’ लगायतका भारतीय चलचित्रमा अभिनय गरेका छन् । उनले ‘वीरगति र ‘ढोलकी’ गरी दुई भारतीय चलचित्रको पनि निर्देशन गरिसकेका छन् ।
नेपाली चलचित्रको गुणस्तरीयता र नेपालको सुन्दरताले आफूलाई नेपालसम्म तानेको देसाईंको भनाई छ । ‘सायरा’लाई हिन्दीमा डब गरेर विश्वभर प्रदर्शन गर्ने उनको योजना छ । यसअघि नेपाली चलचित्रको बारेमा आफूलाई जानकारी नभए पनि निर्माता पुस्कर झाले केही नेपाली चलचित्रको ट्रेलर देखाएपछि निर्देशन गर्न तयार भएको उनले बताए । उनी नेपाली चलचित्रको मेकिङको प्रशंसा गर्छन् ।
नेपालको लोकेशन विश्वलाई फ्रेस लाग्ने र भिएफएक्सले पूरा गर्नुपर्ने दृश्य नेपालमा प्राकृतिक रुपमा नै रहेको देसाईंको भनाई छ । उनी आफू ‘सायरा’को निर्देशन गर्न तयार हुनुको अर्को कारण चलचित्रको कथावस्तु रहेको बताउँछन् । चलचित्रमा नेपाल र भारतको संयुक्त टिम हुने र मुख्य सहायक निर्देशक नेपालकै हुने भएकाले भाषाको हिसाबमा निर्देशन गर्न गाह्रो नहुने उनको विश्वास छ ।
बलिउड चलचित्रको मेकिङ र नेपाली चलचित्रको मेकिङमा पनि फरक नभएको उनको तर्क छ । उनी भन्छन्, ‘जसरी यहाँ मेकिङ हुन्छ, त्यस्तै हो । बलिउडमा कथा तयार भएपछि कलाकारलाई सुनाउछौँ । त्यसपछि लगानी जुट्छ । त्यसपछि टिम तयार हुन्छ । हरेक डिपार्टको हेडले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । हामीले सबैसँग गरेको सम्झौता अनुसार कामलाई अगाडि बढाउछौँ ।’
चलचित्रको घोषणाका लागि नेपाल आएको समयमा देसाईंले पशुपतिनाथको दर्शनसँगै काठमाडौं आसपासको घुमघाम गरेका थिए । अब आउँदा पोखरा र लुम्बिनी घुम्ने उनको योजना छ । उनले आफूलाई नेपाली थकाली खाना मन परेको पनि बताएका छन् । अष्ट्रेलिया र नेपालमा खिचिने ‘सायरा’मा आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ ।
डिविआर मिडिया एन्ड मुभी प्रालीको प्रस्तुतिमा अष्ट्रेलियाको आइविल प्रोडक्सनले ‘सायरा’को निर्माणमा सहकार्य गरेको छ । रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्मातामा काजीमान अत्रेय छन् भने निर्मातामा पुष्कर झा छन् । चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । चलचित्रको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने बताइएको छ ।