नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतमा पहिलो दिन सुखद् ओपनिङ गरेको छ । नेपालमा शुक्रवार २ करोड ग्रस कमाई गरेको चलचित्रले भारतमा भने ९२ लाख ग्रस कलेक्सन गरेको छ । भारतीय ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत् चलचित्रको पहिलो दिनको भारत कलेक्सन सार्वजनिक गरेका हुन् । उनले यो कमाईलाई सुखद् भनेका छन् ।

उनले लेखेका छन्, ‘कम मूल्यको टिकट र सीमित शोजहरुको बावजूद पनि यो कमाई सुखद् हो । अब दोस्रो र तेस्रो दिन चलचित्रले स्कोर गर्न आवश्यक छ । किनकि, टिकट मूल्य पुरानै अवस्थामा फर्किएको छ ।’ शुक्रवार ‘नेशनल सिनेमा डे’ भएकाले भारतमा चलचित्रको टिकट मूल्य ७५ रुपैयाँ थियो । यति कम मूल्यको टिकटमा पनि चलचित्रले भारतमा ९२ लाख कमाउनु सुखद् संकेत हो ।
पहिलो पटक नेपाली चलचित्र भारतीय भाषामा डब भएर भारतका हलमा प्रदर्शनमा आएको थियो । शनिवार र आइतवार चलचित्रले भारतमा एक करोडमाथिको कमाई गर्ने ट्रेड एनालिस्टहरुको अनुमान छ । तर, भारतीय समीक्षकले चलचित्रको हिन्दी डब रुचाएका छैनन् । भारतका चर्चित समीक्षक कोमल नाहटाले चलचित्रको समीक्षा गर्दै स्क्रिनप्ले कमजोर रहेको बताउँदै बक्सअफिसमा खासै राम्रो व्यापार गर्न नसक्ने बताएका छन् ।

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले मिलेर खिचेका हुन् ।