अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’ आगामी पुष ८ गते अर्थात् डिसेम्बर २३, २०२२ मा प्रदर्शन हुने भएको छ । कथावस्तुसँगै उक्त महिनासँग चलचित्रको नाम पनि मिल्ने भएकाले निर्माण टिमले डिसेम्बर २३ मा चलचित्रलाई प्रदर्शन गर्न लागेको हो । यद्यपि, निर्माण टिमले प्रदर्शन मिति घोषणा गरिसकेको भने छैन ।

यतिबेला ‘डिसेम्बर फल्स’को अन्तिम चरणको छायांकन भइरहेको छ । छायांकन सकिएको जानकारीसहित प्रदर्शन मिति घोषणा गर्ने योजनामा निर्माण टिम रहेको छ । पहिलो लकडाउन खुलेपछि चलचित्रको निर्माण घोषणा गरेर छायांकन सुरु गरिएको थियो । तर, पछि विभिन्न कारणले अधुरैमा छायांकन रोकियो । अहिले चलचित्रको क्लाइमेक्सको छायांकन भइरहेको जानकारी प्राप्त छ ।
प्रविण झाको निर्देशन रहेको चलचित्रलाई महेश आर गुप्ताले खिचिरहेका छन् । सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको पनि अभिनय रहेको चलचित्रका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । राज कुमार भट्ट र लक्ष्मण रिजाल निर्माता रहेको यो फिल्मको पटकथा तथा संवाद केदार भुषाल तयार पारेका हुन् । चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्नेछन् ।