अभिनयमा पारंगत मानिने अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईको जोडी चलचित्रमा हिट छ । उनीहरुले चलचित्र ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराए । सौगात र दयालाई दर्शकले चलचित्र ‘लुट’मा पनि निकै मन पराएका थिए ।
यी दुई नायकले थुप्रै चलचित्र छुट्टाछुट्टै रुपमा खेलेका छन् । तर, कहिले काहिँ उनीहरु एकसाथ पर्दामा आउँदा दर्शकले व्यग्रताका साथ प्रतिक्षा गर्ने गरेका छन् । असोजको २१ गतेबाट उनीहरु अभिनीत चलचित्र ‘२ नम्बरी’ रिलिज हुँदैछ । चलचित्रमा यी दुइको मित्रताले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । चलचित्रको टिजरमा सौगात र दयालाई एकसाथ देखेर दर्शक उत्साहित छन् ।

निर्माणपक्षले मंगलबार चलचित्रको ट्रेलर सार्वजनिक गर्दैछ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रमा दयाको जोडीको रुपमा उगेन छोदेन र सौगातको जोडीको रुपमा उपासना सिंह ठकुरीले अभिनय गरेका छन् ।
चलचित्र ‘२ नम्बरी’लाई कतिपयले ‘कबड्डी ४’को स्वाद झल्काउने समेत भनेका छन् । तर, निर्देशक लामा चलचित्रमा सौगात र दयाको जोडीलाई दर्शकले रमाइलो शैलीमा हेर्न पाउने बताउँछन् । यसमा २ मित्रहरुको कथा भनिएको उनको भनाई छ । दशैंको टिका लगतै दर्शकले रमाइलो चलचित्र हेरेर फ्रेस हुन सक्ने उनको भनाई छ ।


