निर्माता सेनले ‘प्रेमगीत ३’ निर्देशक गुरुङको घर बनाइदिने



चलचित्र ‘प्रेमगीत ३’लाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । चलचित्रको परिकल्पना भने छेतेनले गरेका हुन् । यो उनको ड्रिम प्रोजक्ट थियो । तर, २०७७ सालमा उनको असामयिक निधन भयो । उनले आफ्नो ड्रिम प्रोजेक्ट पर्दामा हेर्न पनि पाएनन् । यो चलचित्रभन्दा अगाडि उनले चलचित्र ‘डमरुको डण्डीवियो’बाट निर्देशनमा डेब्यू गरेका थिए ।

‘प्रेमगीत ३’ हिन्दीमा डब भएर यतिबेला भारतमा समेत प्रदर्शन भइरहेको छ । यो क्षण एउटा नेपाली निर्देशकका लागि ठूलो सपना हो । तर, उनले आफ्नो सपना पूरा भएको पनि देख्न पाएनन् । चलचित्रका हरेक गतिविधिमा निर्माण टिमले उनलाई सम्झिने गरेको छ । गत हप्ता काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङलाई सम्झिएर चलचित्रका निर्मातादेखि कलाकारसम्म भावुक भएका थिए ।

‘प्रेमगीत ३’को काम भइरहँदा गुरुङले निर्माता सन्तोष सेनलाई आफ्नो घरायसी जीवनको बारेमा पनि बताउने गरेका थिए । आफ्नो एकतले घरलाई दुईतले बनाउने उनको सपना थियो । अब निर्देशक गुरुङको त्यो सपनालाई निर्माता सेनले पूरा गर्ने भएका छन् । सेनले आइतवार मिडिया र निर्देशक गुरुङको आमालाई साक्षी राखेर चलचित्रले नकमाए पनि घरको तल्ला थपिदिने घोषणा गरे ।

उनले भने, ‘छेतेन दाईले छाड्नुभएको सृजना अहिले विश्वमा लागेको छ । यस्तो सृजना भएको मान्छे जन्माउनु भएकोमा आमालाई धेरै-धेरै धन्यवाद । एकतले घरलाई दुईतला बनाउने छेतेन दाईको सपना थियो । म आज आमाको अगाडि भन्छु कि फिल्मले भलै पैसा नकमाओस् तर हजुरको घर बन्छ ।’ ‘प्रेमगीत ३’ले यतिबेला घरेलू बजारमा राम्रो कमाई गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu