दयाहाङ र सौगातको ‘२ नम्बरी’ ट्रेलर रिलिज



असोज २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल अभिनीत चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडी शैलीमा तयार पारिएको छ । ट्रेलर मित्रता र प्रेमको वरिपरी घुमेको छ । ट्रेलरमा दयाहाङभन्दा सौगातको उपस्थिति सशक्त देखिएको छ ।

दयाहाङ र सौगात मिल्ने साथी हुन् । उनीहरु जंगलमा एकसाथ शिकार गर्छन् । त्यसैक्रममा दयाहाङले चलाएको बन्दुकबाट उगेन छोदेन घाइते हुन्छिन् । गाउँमै उपचारको क्रममा उनीहरुबीच माया पलाउँछ । उता सौगातको उपासना सिंह ठकुरीसँग गहिरो प्रेम बसेको छ । उपासनाका लागि ५ लाखमा ब्यूटी पार्लर किन्न उनी कसरी गलत काम गर्न थाल्छन् भन्नेमा मुलतः ट्रेलर केन्द्रित छ ।

चलचित्रका निर्देशक दीपेन्द्र लामा हुन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको यस फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी छिन् । बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि चलचित्रमा अभिनय छ ।

चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत छ । दयाहाङ र सौगात ‘कबड्डी ४’पछि एकसाथ देखिएकाले दर्शकमा ‘२ नम्बरी’को प्रतिक्षा व्यग्र छ । ट्रेलरले दर्शकमा चलचित्रप्रति थप कौहुलता र उत्सुकता जगाएको छ । चलचित्रको जापान, साउथ कोरिया, अष्ट्रेलिया, अमेरिका र क्यानडाको राइट्स विक्री भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu