‘मिलन’को गीतमा टिकटक बनाउँदा नगद जित्ने मौका



चलचित्र ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । आगामी कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको गीतमा राजु सेन्चुरीको शब्द रचना तथा संगीत रहेको छ भने प्रविशा अधिकारी र कौशलराज खड्काको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका नायक कुशल शाह र नायिका शिल्पा थापा फिचर्ड छन् ।

चलचित्रको टिमले टिकटक प्रयोगकर्ताका लागी नयाँ अफर समेत ल्याएको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागी नगदसहितको पुरस्कार पाउन सक्ने योजना ल्याएको हो । सार्वजनिक गरिएको गीतको क्लिप काटेर आफ्नै टिकटकमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट ५ छनौट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ ।

यस्तै, उक्त गीतमा टिकटक बनाउने उत्कृष्ट १० हजारलाई पनि नगद पुरस्कार दिइने बताइएको छ । चलचित्रका निर्देशक टेक पौरखी राईका अनुसार राम्रो टिकटक बनाउनेहरुको पनि भ्युज नआउन सक्ने भन्दै टिकटकको भ्युज नहेरेर ‘क्रिएटिभ’ टिकटकलाई स्थान दिइनेछ । छनोटमा परेका १० टिकटकमध्ये पहिलोलाई १० हजार र क्रमशः ९,८,७ गर्दै १ हजारसम्म जित्ने अवसर प्रदान गरिनेछ । असोज १० गतेदेखि असोज २० गतेसम्म आफ्नो टिकटक भिडियो चलचित्रको फेसबुक पेजमा पठाउनुपर्नेछ ।

कुशल र शिल्पासँगै सलोन बस्नेत, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको पनि अभिनय रहेको चलचित्रको कथा पनि निर्देशक राईले नै लेखेका हुन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको छ । चलचित्रमा ब्याकग्राउण्ड स्कोर शैलेश श्रेष्ठको रहेको छ भने एरेन्जर पुरुषोत्तम सुवेदी र कृष्ण केसी हुन् ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu