कुनै समय नेपाली चलचित्रमा आफ्नो सशक्त उपस्थिति जनाएकी अभिनेत्री तृप्ति नाडकरका छोरा धिरजले पनि नेपाली चलचित्रमा आफ्नो यात्रा सुरु गरेका छन् । धिरज अभिनीत पहिलो चलचित्र ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ । आफ्नो छोराको चलचित्र रिलिजको पूर्व सन्ध्यामा तृप्तिले भिडियो सन्देशमार्फत् आफूले नेपालमा पाएको माया छोराले पनि पाउने आशा व्यक्त गरेकी छन् ।

चलचित्रमा समावेश ‘मायाका रंगहरु’ गीत गुनगुनाउँदै धिरजसँग भिडियोमा देखिएकी उनले भनेकी छन्, ‘धेरै चलचित्रमा तपाईंहरुले मेरो कामको प्रशंसा गर्नुभयो । त्यसका लागि म आभारी छु । तपाईंहरुले दिएको माया म कहिल्यै बिर्सन्नँ । आज मेरो छोराले नेपाली चलचित्रमा पाइला राख्दैछ । मलाई विश्वास छ कि मलाई जति माया गर्नुभएको थियो, त्यत्तिकै माया मेरो छोरालाई पनि गर्नुहुनेछ ।’
तृप्ति विगत ८ वर्षदेखि भारतमा बसेर शिक्षण पेशा गरिरहेकी छन् । ‘बाबरी’की निर्मात्री पुष्पलता बुढाथोकी उनको मिल्ने साथी हुन् । पुष्पलताले तृप्तिलाई चलचित्र अफर गर्दा उनले आफ्नो छोराको नाम सिफारिस गरेकी थिइन् । र, निर्देशक सुरेन्द्र पौडेलले धिरजको तस्विरहरु हेरेपछि चलचित्रमा भित्राएका थिए । धिरजले यसअघि केही हिन्दी विज्ञापन र सिरिजमा काम गरिसकेका छन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा धिरजसँगै धिरज मगर, अदिती बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनलगायतको पनि अभिनय रहेको छ । भारतमा जन्मे-हुर्किएका धिरजले ‘बाबरी’मा पनि भारतीय नागरिककै भूमिकामा अभिनय गरेका छन् ।