दशैंलाई लक्षित गरेर ‘बाबरी’ले थाल्यो प्रदर्शन



दशैंलाई लक्षित गरेर सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ले शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको छ । आक्रामक प्रचार-प्रसारसहित प्रदर्शनमा उत्रिएको चलचित्रले दशैंको एक हप्ता लामो विदाको फाइदा उठाउन सक्ने विश्लेषण गरिएको छ । तर, यो चलचित्रलाई बक्सअफिसमा भने शुक्रवारबाटै प्रदर्शनमा आएको दुई ठूला भारतीय चलचित्र ‘विक्रम वेधा’ र ‘पिएस वान’को चुनौती छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रले बिहीवार साँझ काठमाडौंमा भएको प्रियिमरमा सुखद् प्रतिक्रिया बटुलेको थियो । यो चलचित्रबाट डेब्यू गरेका धिरज नाडकरको अभिनयको प्रियिमरमा उपस्थित अधिकांश पाहुनाले प्रशंसा गरेका थिए भने अर्का अभिनेता धिरज मगरले पनि प्रशंसा कमाए । त्यस्तै, अभिनेत्री अदिती बुढाथोकीको सुन्दरताको तारिफमा शब्द खर्चिने चलचित्रकर्मी पनि कम थिएनन् ।

चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय छ । अदिती बुढाथोकीका बुबा(आमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेको चलचित्रको सह-निर्मातामा सुष्मा गुरुङ छिन् ।

निर्देशक पौडेलकै कथा रहेको चलचित्रमा कालीसँगै सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा चलचित्र खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu