प्रिमियरमा ‘बाबरी’को प्रशंसा



त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहीवार साँझ काठमाडौंको बिग मुभिजमा चलचित्रको प्रिमियर राखिएको थियो, जहाँ उपस्थितअधिकांश पाहुनाले सुखद् प्रतिक्रिया दिए । प्रायःले अभिनय, कथावस्तु, छायांकन र गीत-संगीतको प्रशंसा गरेका थिए ।

अभिनेत्री जसिता गुरुङले चलचित्र इन्टरटेनिङ र राम्रो चलचित्रमा हुनुपर्ने सम्पूर्ण एलिमेन्ट्स रहेको भन्दै प्रशंसाको फूलबुट्टा भरिन् । उनले प्रिमियरमा सञ्चारकर्मीसँग भनिन्, ‘गीतहरु एकदमै राम्रा छन् । कलाकारको काम पनि मन पर्‍यो । छायांकन पनि उत्कृष्ट छ ।’ उनले चलचित्रका कलाकारहरु धिरज मगर, अदिती बुढाथोकी र डेब्यू ब्वाई धिरज नाडकरको अभिनयको पनि तारिफ गरिन् ।

चलचित्रमा अदितीलाई एकदमै सुन्दर र स्ट्रोङ देखिएको बताउँदै जसिताले धिरज नाडकरको अभिनय पनि उत्कृष्ट लागेको बताइन् । धिरजले भारतमा केही काम गरिसकेकाले त्यो अनुभव चलचित्रमा देखिएको उनको भनाई थियो । उनले धिरजसँग काम गर्ने इच्छा पनि व्यक्त गरिन् । अर्का धिरजसँग एक चलचित्रमा काम गरिसकेकी जसिताले उनलाई भर्सटायल कलाकार भन्दै प्रशंसा गरिन् ।

उनले भनिन्, ‘धिरज मगरसँग मैले ‘आई एम ट्वान्टिवान’मा सँगै काम गरेको छु । ‘बाबरी’ हेरेपछि मलाई धिरज भर्सटाइल कलाकार हो भन्ने लाग्यो । मलाई ऊप्रति गर्व छ । मैले पनि सानो राजासाहेब (धिरजले निर्वाह गरेको चरित्रको नाम) जस्तो माया गर्ने मान्छे पाए हुन्थ्यो भन्ने लागेको छ ।’ पहिलो चलचित्रमा भन्दा ‘बाबरी’मा धिरजको अभिनयमा अझ परिपक्वता आएको उनको तर्क थियो ।

प्रिमियरमा उपस्थित भएका कलाकार सन्दीप क्षेत्रीले धिरज मगरको अभिनयले सरप्राइज भएको बताए । आफूले अपेक्षा गरेभन्दा धिरजको अभिनय धेरै माथिको रहेको उनको भनाई थियो । अभिनेत्री बेनिशा हमालले पनि कलाकारदेखि निर्देशकिय पक्षसम्मको प्रशंसा गरिन् । अर्की अभिनेत्री शिल्पा मास्केले एउटा प्याकेजको चलचित्र रहेको बताउँदै कलाकारको काम मन परेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu