रिमेश भन्छन्, ‘देशको इतिहासमाथि बनेको ‘नालापानी’सँग जुध्न आउनु कति जायज हो ?’



तिहारको छेको पारेर कात्तिक ४ गतेबाट दुई आशातित चलचित्र ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शनमा आउने तयारीमा छन् । यो मिति सबैभन्दा पहिला ‘नालापानी’ले रोजेको थियो । यसको केही हप्तापछि ‘के घर के डेरा’ले पनि त्यही मिति लक गर्‍यो । यी दुवै फरक विषयवस्तुमा बनेका चलचित्र हुन् । ‘नालापानी’ नालापानी गढीमा अंग्रेजी सैनिकसँग नेपाली फौजले नेपाललाई बचाउन गरेको लडाईंमा आधारित छ भने ‘के घर के डेरा’ कमेडी कथावस्तुमा बनेको हो ।

‘नालापानी’का निर्देशक तथा निर्माता रिमेश अधिकारीले नेपालको गौरव गाथामाथि बनेको चलचित्रसँग भिड्न नैतिकताको हिसाबले कति जायज भन्दै ‘के घर के डेरा’का निर्मातालाई प्रश्न गरेका छन् । उनले चलचित्र विकास बोर्डदेखि निर्माता संघसम्ममा एकल रिलिजको प्रवन्ध मिलाइदिन आग्रह गर्दै निवेदन लेखेको भए पनि भिड्न आएको चलचित्रका निर्माताले नटेरेको रिमेशको भनाई छ ।

निर्देशक अधिकारीले चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा भने, ‘हाम्रो चलचित्रसँग जो चलचित्र जुधिरहेको छ, उहाँहरुले ‘नालापानी’लाई सामान्य रुपमा लिनुभएको हो कि ? यो त उहाँहरुको पनि चलचित्र हो । जुध्न लागेको चलचित्र र ‘नालापानी’लाई एउटै तराजुमा जोख्ने हो भने के त्यो तौल उचाल्न सक्नुहुन्छ उहाँहरुले ? यो रिमेश अधिकारीको टिमको मात्र चलचित्र होइन, सारा नेपालीको चलचित्र हो ।’

‘के घर के डेरा’का निर्माताको ठाउँमा आफू भएको भए तीन महिना पछाडि सरेर सकेको सहयोग गर्ने उनले बताए । उनी अगाडि भन्छन्, ‘यो मितिमा अरु चलचित्र आउनै नपाउने भन्ने होइन । तर, देशको गर्विलो इतिहासमा बनेको चलचित्रसँग जुधाउन नैतिकता र मनले कति जायज हो ? उहाँहरु आउँदा मलाई समस्या होइन तर उहाँहरु पनि नेपाली हो नि । ‘नालापानी’ उहाँहरुको होइन र ?’

उनले ‘नालापानी’ बनाउँदा पाइलैपिच्छे समस्या भोगेको र ९ वर्षको मिहेनतपछि चलचित्र प्रदर्शन हुन लागेको बताए । नेपाली सेनाको सहयोगसहित १३ करोडको लागतमा चलचित्र बनेको उनको भनाई छ । निर्माताबाट ६ करोड लगानी भइसकेको र प्रदर्शनसम्म अरु थप ५० लाख खर्च हुन सक्ने बताउँदै निर्देशक अधिकारीले यो चलचित्र पैसा कमाउनका लागि नभइ राष्ट्रका लागि बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu