‘बाबरी’लाई दर्शकको साथ, शनिवारको व्यापार सुखद्



हिन्दूहरुको महान् पर्व दशैंलाई लक्षित गरेर शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘बाबरी’ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रवारभन्दा शनिवार सार्वजनिक विदामा चलचित्रको व्यापार केही सुखद् पनि रह्यो । दुई ठूला विदेशी चलचित्रको चुनौतीका वाजबूद पहिलो दिन देशभर ६० प्रतिशत अकुपेन्सी पाएको चलचित्रले शनिवार ८०/८५ प्रतिशत दर्शक अकुपेन्सी कायम गर्‍यो ।

शनिवार विहानदेखि साँझसम्म काठमाडौंसहित मोफसलका मेजर मल्टीप्लेक्सहरुमा चलचित्र हेर्ने दर्शकको उपस्थिति सुखद् थियो । सिंगल थिएटरमा पनि चलचित्रले दर्शकको अभाव झेल्नु परेन । ‘वर्ड अफ माउथ’ बलियो मिलेकाले आइतवारबाट हलमा दर्शक थप बढ्नेमा निर्माण टिम विश्वस्त छ । आइतवारबाट दशैंको विदा पनि भएकाले चलचित्रको व्यापार सुखद् रहने अपेक्षा गरिएको छ ।

यसबीच, शनिवार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ्ग’ले श्रीमतीसँग काठमाडौंको बिग मुभिजमा ‘बाबरी’ हेरेका छन् । चलचित्र हेरेपछि उनले कथावस्तु, गीतसंगीत, छायांकन र कलाकारको अभिनयको प्रशंसा गरे । त्यस्तै, उपराष्ट्रपतिसँगै चलचित्र हेर्न पुगेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि ‘बाबरी’ सुगन्धित बनेको भन्दै कलाकारको अभिनयको प्रशंसामा शब्द खर्चिइन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको ‘बाबरी’मा धिरज मगर, धिरज नाडकर, अदिती बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको अभिनय रहेको छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu