बोर्डबाट केही काम हुँदैन भने भुवन केसीले राजीनामा दिए हुन्छ : ‘बाबरी’ निर्देशक पौडेल



असोज १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बाबरी’को शो मल्टीप्लेक्सहरुले घटाउन थालेपछि निर्माण टिम आक्रोशित बनेको छ । सोमवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामाको समेत माग गरे । उनले बोर्डले नेपाली चलचित्रलाई हक-अधिकारका लागि लड्न नसक्ने हो भने खारेज गर्नुपर्ने समेत बताएका छन् ।

उनले भने, ‘चलचित्र विकास बोर्ड केका लागि ? बोर्डबाट केही काम हुँदैन भने खारेज गर्दा हुन्छ । होइन भने बोर्डले सम्पूर्ण चलचित्रकर्मीलाई बोलाएर आन्दोलनमा उत्रिनुपर्छ । बोर्डले केही गर्न नसक्ने हो भने भुवन दाईले पनि बोर्ड छाड्दा हुन्छ । भुवन दाई नेपाली चलचित्रको विकासका लागि जानुभएको होइन ? खोइ त गर्नुभएको ? कि राज्यले हामीलाई चलचित्र नै नबना भन्नुपर्‍यो । नभए नेपाली चलचित्रको नीति नियम बनाइदिनुपर्‍यो । नेपाली चलचित्र रिलिज गरिसकेपछि कति समयसम्म शो पाउने, कति समयसम्म शो हटाउन नपाउने नीति बनाउनु पर्छ ।’

दशैंको टीकादेखि मात्र नेपाली चलचित्र हेर्न हलमा दर्शक जाने भएकाले ‘बाबरी’ले दशैंको टीकासम्म शो पाउँछ कि पाउँदैन भनेर आफूहरु डराएर बस्नु परेको निर्देशक पौडेलको भनाई छ । नेपाली चलचित्र लगाउने बेला सधैं तनाव र दुःख हुने गरेको बताउँदै उनले पिताको सम्पत्तिमा सन्तानको हक हुन्छ भने झैं नेपालमा नेपाली चलचित्रले नै हक-अधिकार पाउनुपर्ने तर्क गरे ।

‘यतिबेला ‘बाबरी’ राम्रोसँग चलिरहेको छ । तर, दर्शकहरुले टाइममा शो छैन भनेर गुनासो गर्नुहुन्छ । यस विषयमा बोर्डसँग कुरा गर्दा भुवन दाईले मेरो हातमा केही छैन भन्नुहुन्छ । अनि बोर्डसँग नै नेपाली चलचित्रलाई बचाउने अधिकार छैन भने बोर्डको के काम ? बोर्डले सक्दैन भने भुवन दाईले राजीनामा दिए भइगयो नी । नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्थापना भएको बोर्डले नेपाली चलचित्रको पक्षमा काम गर्न सक्दैन भने खारेज गर्नुपर्छ,’ उनले भने ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि विदेशी चलचित्रको प्रवद्र्धन गर्ने हो भने बोर्ड खारेज गर्नुपर्ने बताए । उनले नेपाली चलचित्रको हितको लागि आफूहरु बोर्डविरुद्ध चाँडै आन्दोलनमा जाने समेत चेतावनी दिए । उनले भने- ‘विदेशी चलचित्र महिनाको एक पटक मात्रै चलाउने कोटा ल्याउनुपर्छ । नेपालमा विदेशी चलचित्रलाई कोटा सिस्टममा लैजानुपर्छ । यसको लागि हामी दशैं-तिहार सकिने बित्तिकै आन्दोलन गर्छौं । नेपाली भाषालाई समाप्त पार्ने षड्यन्त्र हामीलाई मान्य छैन ।’

चलचित्रका मुख्य अभिनेता धिरज मगरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाउँदा समेत शो नबढेकोमा दुखेसो पोखे । उनले भने- ‘चलचित्रले राम्रो रेस्पोन्स पाएको छ । शो हाउसफूल भएको छ । पोखरा, दमक, धरान सबै शहरहरुमा दर्शक उपस्थिति एकदमै राम्रो छ । चलचित्रलाई दर्शकले दिएको माया जस्तै शोमा पनि पाउनुपर्‍यो ।’ नेपाली चलचित्रहरुलाई पहिलो प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

अभिनेत्री अदिती बुढाथोकीले चलचित्र राम्रो बनेको र दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएकाले शो बढाउनुपर्ने बताइन् । त्यस्तै, निर्मात्री पुष्पलता बुढाथोकीले नेपाली चलचित्रमाथि भएको अन्यायको बारेमा सरकारले सहयोग गर्नुपर्ने धारणा राखिन् । आफूहरुले चलचित्र बनाउँदा यस्तो समस्या आउँछ होला भन्नेबारे अनभिज्ञ रहेको र अहिले चलचित्रको शो घटाईएको सूचना आएको भन्दै कसको कारण यस्तो भएको हो भनेर थाहा नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu