युवा विद्रोहको रुपमा मेरो उम्मेदवारी : रेखा थापा



नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनले आइतवार श्रीमान् बलराम शाही र राप्रपाका कार्यकर्ताको साथमा मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी हुन् । मोरङ रेखाको जन्म जिल्ला समेत हो ।

उनले उम्मेदवारी दर्ता गराएको तस्विरसहित सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ३० वर्षदेखि संसद्मा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर आफूले विद्रोहको रुपमा उम्मेदवारी दिएको बताएकी छन् । उनले मोरङबासीका लागि विशेष योजनासहित काम गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

उनले लेखेकी छन्, ‘अब पनि हामी नबोले, आमीले आवाज नउठाए कसले उठाउछ ? देश बनाउन कसम खाएका नेताहरुले देश त परै जाओस् आफ्नो समाजको लागिसम्म पनि उत्तरदायी बन्न किन सकेनन् ? किन हामी मोरङबासी सधैं देशको राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परिरहेका छौं त ? यस्तै तमाम समस्याले गर्दा मैले मोरङ क्षेत्र नं. ३ बाट युवा विद्रोहको रुपमा उम्मेदवारी दिएकी छु । रंगमन्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो, अब नेपाली समाजको, मोरङबासीको, आमाहरु अनि छोरीहरुका लागि विशेष योजनासहित काम गर्नेछु ।’

उनले यसपटक पैसाले भोट किन्ने प्रथा र जनतालाई झुट बोलेर सांसद बन्ने प्रथाको अन्त्य गर्न पनि मोरङबासीलाई आग्रह गरेकी छन् । चाँडै केही योजनाहरुसहित आफू मोरङका जनतासामु उपस्थित हुने पनि उनले वाचा गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदर्शन गर्नेछ । मोरङबासी राजनीतिक दास होइनन्, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन् भनेर गतिलो जवाफ दिनेछन् भन्ने विश्वासका साथ संसदीय इतिहासमा मोरङले परिवर्तनका लागि विद्रोह गदैछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu