सन्तोष पन्तदेखि पूजासम्मले रुचाए ‘२ नम्बरी’



आइतबार बेलुकी आयोजना गरिएको चलचित्र ‘२ नम्बरी’को विशेष शोमा चलचित्रकर्मीबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । चलचित्र हेर्न पुगेकी नायिका पूजा शर्माले यसको कथावस्तु, प्रस्तुति र चलचित्रले दिएको सन्देश उत्कृष्ट लागेको बताइन् । उनले चलचित्रले दिएको सन्देश, कलाकारको अभिनय उत्कृष्ट लागेको बताइन् ।

यस्तै, कलाकार सन्तोष पन्तले आम नेपालीले यो चलचित्र हेर्नुपर्ने बताए । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘हिजो आजका कुरा’का कलाकार समेत रहेका पन्तले भने–‘चलचित्रको कथावस्तु आफ्नै माटोको छ । अर्गानिक कथालाई निर्देशकले रमाइलो तरिकाले बुनेका छन् ।’

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि यो चलचित्रको प्रशंसा गरे । चलचित्रको कथावस्तुले नेपाली माटोको सुगन्ध बोलेको उनको तर्क थियो । निर्देशक शोभित बस्नेतले यसअघि दीपेन्द्र लामाले आफ्ना लागि चलचित्र बनाएको तर यसपटक दर्शकका लागि बनाएको तर्क गरे ।

दर्शक र चलचित्रकर्मीबाट पाएको प्रतिक्रियाबाट उत्साहित भएका नायक दयाहाङ राइले सामाजिक सन्देश सहितको चलचित्र भएकाले दर्शकको मन छोएको बताए । नायिका उपासना सिंह ठकुरीले राम्रो कथा भएकाले नै आफूले चलचित्र साइन गरेको बताइन् । अर्की नायिका उगेन छोदेनले नेपाली दर्शकले आफूलाई स्वागत गरेको भन्दै खुशी व्यक्त गरिन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रले सुखद् कमाई गरिरहेको छ ।

सधैं नै सामाजिक कथावस्तुमा फिल्म बनाउँदै आएका दीपेन्द्र लामाले यसपटक बन्यजन्तुको चोरी शिकारी गर्नु हुदैन भन्ने कथा उठान गरेका छन् । समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको भए पनि दर्शकले चलचित्रलाई मनोरञ्जनको खुराक भनेका छन् । निर्देशक लामाले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ को निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu