‘भागवत् गीता’ नाममा चलचित्र बनाउन लागेकोमा हिन्दूवादी संस्थाको आपत्ति



झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत् गीता’को नामलाई लिएर एक हिन्दूवादी संस्थाले चलचित्र विकास बोर्डमा उजुरी हालेको छ । बुधवार हिन्दू जागरण नेपालले बोर्ड अध्यक्ष भुवन केसीलाई कार्यकक्षमै भेट गरेर बुझाएको उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद् भागवत् गीता जस्तो पवित्र नाममाथि चलचित्र निर्माण हुन लाग्नु दुष्कृत्य रहेको भनिएको छ ।

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायद्वारा हस्ताक्षरीत उजुरी पत्रमा लेखिएको छ, ‘झरना थापाज्युले ‘भागवत् गीता’ नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ । यस्ता दुष्कृत्यलाई दोहोर्‍याउन खोजेको स्पष्ट देखिन्छ । त्यसैले यदि श्रीमद् भागवद्को पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरि चलचित्रका दृश्य छन् भने मात्र प्रसारण होस् ।’

ग्रान्थको नाममा चलचित्र निर्माणको अवस्था आएको खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरि कथा विषयवस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरि मात्र निर्माण र प्रसारणको अनुमति दिन समेत बोर्डसँग हिन्दू जागरण नेपालले आग्रह गरेको छ ।

नेपालको मौलिक धर्म, परम्परा र संस्कृति आदिको संरक्षण गर्न चलचित्र क्षेत्रले सशक्त भूमिका निर्वाह गर्नुको बदलामा अझै आघात पुर्‍याउने खालका गतिविधिहरु हुनु दुःखद् रहेको उजुरीमा उल्लेख छ । चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै ?’ गीतमा धार्मिक पहिरन लगाएको ब्राह्मणलाई कमेडी रुपमा शो गर्नु, चलचित्र ‘गरुड पुराण’मा गरुड पुराणसँग सम्बन्धै नराख्ने भल्गर नृत्य र कथा प्रस्तुत गरिएकोप्रति पनि हिन्दू जागरण नेपालले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu