मंसिर ७ देखि छायांकन गर्ने सहमति गर्दै ‘प्रसाद २’को विवाद टुंगियो



निर्माता सुभाष थापा, निर्देशक सुदर्शन थापा र अभिनेता विपिन कार्कीबीच उत्पन्न विवादका कारण चलचित्र ‘प्रसाद २’को छायांकन अन्योल बनेको थियो । अन्ततः चलचित्र निर्माता संघले निर्माता थापाले दिएको उजुरीको आधारमा तीनै जनासँग वार्ता गरेर विवाद टुंग्याएको छ । आगामी मंसिर ७ गतेबाट सुटिङ थाल्ने गरि निर्माता, निर्देशक र अभिनेताले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मंसिर ७ गते छायांकन गर्न सम्भव नभएको अवस्थामा उपयुक्त समयमा छायांकन गर्ने त्रिपक्षीय सम्झौता भएको निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए । गत असारमा चलचित्रको छायांकनका लागि कलाकारदेखि निर्माता-निर्देशकसम्म कास्की पुगेका थिए । तर, छायांकन सुरु हुने बेला अभिनेता विपिन कार्कीले विवाद झिकेपछि चलचित्रको सुटिङ रोकिएको थियो ।

छायांकन नगरी चलचित्रको टिम काठमाडौं फिर्ता भएपछि निर्माता थापाले नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा विपिन कार्कीलाई चलचित्र खेल्नका लागि सहमति गराइदिन आग्रह गर्दै लिखित निवेदन दिएका थिए । चलचित्र नखेल्ने भए विपिनबाट क्षतिपूर्ति दिलाइदिन उनको माग थियो । अन्ततः निर्माता संघले चलचित्रको विवाद मिलाएर छायांकनको वातावरण बनाइदिएको छ ।

चलचित्रमा विपिनसँगै नम्रता श्रेष्ठ, राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायतको पनि अभिनय रहनेछ । २०७५ सालमा प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ जहाँ टुंगिएको थियो ‘प्रसाद २’ त्यहीँबाट सुरु हुनेछ । सुभाष थापा र केशव पाण्डे निर्माता रहेको चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu