प्रिमियरमा रुचाइयो ‘हिजो आजका कुरा’, बाल्यकालमा फर्किए सेलिब्रेटी



असोज २८ गते अर्थात् भोली शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिजो आजका कुरा’ले प्रिमियरमा प्रशंसा कमाएको छ । बुधवार साँझ काठमाडौंको एक हलमा आयोजित प्रिमियर शोमा उपस्थित भएका चलचित्रकर्मीहरुले कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसा गरे । केही अतिथीले चलचित्र हेरिरहँदा बाल्यकालमा ‘हिजो आजका कुरा’ सिरियल हेर्दाको दिन पनि सम्झिए ।

कलाकार तथा निर्माता किरण केसीले चलचित्रको कथावस्तु एकदमै सशक्त रहेको प्रतिक्रिया दिए । उनले भने- ‘चलचित्रको कथावस्तु एकदमै सशक्त लाग्यो । विदेशमा बसेका छोरा-बुहारी र नेपालमा बस्ने आमा-बुबाको कथालाई चलचित्रमा अत्यन्त राम्रो तरिकाले प्रस्तुत गरिएको छ । हरेक एक कलाकारले सुन्दर अभिनय गरेका छन् । मध्यान्तरपछि ऋचा शर्माको अभिनयले मलाई छोयो ।’

अर्का कलाकार दीपकराज गिरीले ‘हिजो आजका कुरा’ सिरियलको न्यास्रो चलचित्रले मेटाउने बताए । ‘जस-जसले ‘हिजो आजका कुरा’ सिरियल मिस गरिरहनुभएको थियो अब हलमा आएर हेर्दा हुन्छ । सिरियलको जुन फ्लेवर थियो, चलचित्रमा पनि त्यो छ,’ उनले भने । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले चलचित्र राम्रो बनेको बताउँदै चलचित्र हेर्दा दर्शकहरुले आनन्द महसुस गर्ने बताइन् ।

कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले चलचित्र राम्रो बनेको बताए । उनले कलाकारको अभिनयको पनि प्रशंसा गरे । सिरियलमा जस्तै चलचित्रमा पनि समसामयिक कुरालाई प्राथमिकता दिइएको उनको भनाई थियो । चलचित्र हेर्दा ‘हिजो आजका कुरा’ सिरियल अरुको घरमा गएर हेरेको दिन याद आएको बताउँदै केदारले चलचित्रले ५१ दिन मनाउन सफल हुने विश्वास व्यक्त गरे ।

कलाकार विल्सन विक्रम राईले चलचित्रले आफूलाई बाल्यकालमा फर्काएको बताए । हिजो, आज र भोलीका कुरालाई मिसाएर सन्देशसहितको मीठो चलचित्र बनेको उनी बताउँछन् । विल्सनले भने- ‘फिल्ममा हरेक नेपालीको घर-घरको कथा छ । निर्देशकले मीठो तरिकाले पस्किनुभएको छ । ऋचा शर्माको अभिनय उत्कृष्ट छ । अन्य कलाकारहरुको अभिनय पनि अत्यन्त राम्रो लाग्यो ।’

विवाहपछि पहिलोपल्ट श्रीमती ऋचा शर्माको चलचित्र हेर्न प्रिमियरमा पुगेका दिपेक्ष राणाले पनि चलचित्रको प्रशंसा गरे । उनले चलचित्र पारिवारिक कथामा निर्माण भएको र परिवारले रिलेट गर्ने बताए । परदेशमा रहेकाहरुलाई चलचित्रले सन्देश दिने पनि उनको भनाई थियो । उनले श्रीमतीको तारिफमा भने, ‘ऋचाको क्यारेक्टर र अभिनय एकदमै राम्रो । चलचित्रमा उसको उमेरअनुसारकै रोल छ ।’

चलचित्रमा अतिथी भूमिकामा रहेकी अभिनेत्री केकी अधिकारीले ‘हिजो आजका कुरा’ सिरियल हेरेर आफू हुर्किएकाले यो नामको चलचित्रमा सानो भूमिकामा काम गर्न पाउँदा पनि अत्यन्त खुसी लागेको बताइन् । ‘हिजो आजका कुरा’ परिवारले हेर्नुपर्ने चलचित्र बनेको उनले बताएकी छन् । सिरियल हेरेका हरेक नेपालीलाई चलचित्रले काल्यकालमा फर्काउने अभिनेत्री अधिकारी बताउँछिन् ।

त्यस्तै, अभिनेत्री ऋचा शर्माले चलचित्र हेर्दा निराश नहुने दाबी गरिन् । ‘हामीले परिवारसँग बसेर हेर्न मिल्ने चलचित्र बनाएका छौं । यदि तपाईंहरुसँग ‘हिजो आजका कुरा’ सिरियलका कुनै सम्झना छ भने परिवारसहित चलचित्र हेर्न आउनुहोला । २ घन्टा मज्जाले वित्ने छ । ‘हिजो आजका कुरा’को लिगेसीलाई साथ दिने दर्शकहरु त अवश्य हलमा आउनुहुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भनिन् ।

साकार पन्त निर्देशित चलचित्रमा ऋचा र केकीसँगै सन्तोष पन्त, रमा थपलीया, साकार पन्त, दिब्यदेव, जयनन्द लामा, रोहिणी भट्टराई, निरन्जनप्रसाद अर्याल, रिमा बिश्वकर्मा,लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, सबिन शाक्यलगायतको अभिनय छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रलाई रवि सायमीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu