‘महापुरुष’को ‘मोफसल टुर’मा गीत गाएर दर्शक फकाउँदै हरिवंश



कात्तिक ११ गते अर्थात् भाइटीकाको भोलीपल्टबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत चलचित्रमध्ये एक ‘महापुरुष’ गीत र ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई आक्रामक बनाउन विर्तामोडबाट ‘मोफसल टुर’ थालेको छ । निर्माण टिमले असोज २५ गते पूर्वको विर्तामोडबाट मोफसल यात्राको सुरुवात गरेको हो ।

विर्तामोडपछि असोज २५ गते पूर्वको इटहरी र विराटनगरमा चलचित्रका कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायिका रचना रिमाल लगायतले दर्शकसँग भेट गरे । मोफसलका यी तीन ठूला शहरमा उनीहरुले चलचित्रको बारेमा जानकारी दिँदै आफ्नो प्रस्तुतीमार्फत् मनोरञ्जन पनि दिएका थिए ।

पूर्वका तीनै शहरमा आयोजित कार्यक्रममा कलाकार आचार्यले आफ्नो चर्चित गीत ‘हाम्री आमा साह्रै नै बाठी छिन्’ गाएका थिए भने डेब्यू कलाकार द्वय अरुण र अञ्जनाले ‘महापुरुष’मा समावेश ‘बेमौसमी’ गीतमा रोमान्टिक नृत्य प्रस्तुत गरेका थिए । चलचित्रका कलाकारहरुलाई हेर्न दर्शकहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । कलाकारहरुको प्रस्तुतीमा पुर्वेली दर्शक झुमेका थिए ।

चलचित्रको टिमले विर्तामोड, इटहरी र विराटनगरमा कार्यक्रम गर्दै पूर्वको प्रचार यात्रालाई पूर्णविराम लगाएको छ । पूर्वबाट निर्माण टिम पश्चिम हानिएको छ । असोज २७ गते हेटौंडा पुगेको चलचित्रको टिमले त्यसपछि नारायणगढ, बुटवल र पोखरा पुगेर दर्शक भेट्नेछ । चलचित्रका निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले मोफसल भ्रमणमा दर्शकको साथले उत्साहित भएको बताए ।

प्रदीप भट्टराई निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ । रबिन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री निर्माता रहेको यो चलचित्रले सफलता पाउने अपेक्षा धेरैको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu