‘के घर के डेरा’मा काठमाडौंमा घर हुने र नहुनेको समस्याको कथा



समाजको कथालाई मिहिन ढंगले पर्दामा प्रस्तुत गर्न माहिर मानिने दीपेन्द्र के. खनाल निर्देशित नयाँ चलचित्र ‘के घर के डेरा’ कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । कमेडी शैलीको ट्रेलरबाट आशा जगाएको यो चलचित्रले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई प्रस्तुत गरिएको छ । काठमाडौंमा घर हुने र नहुने दुवै वर्गले चलचित्रमा आफ्नो कथा महसुस गर्ने दीपेन्द्रको भनाई छ ।

उनी भन्छन्, ‘काठमाडौंमा डेरामा बस्नेहरुको आफ्नै समस्या छ । तर, घर हुनेहरुको समस्या पनि त्यतिक्कै छ । चलचित्रमा यिनै कुरालाई रमाइलो शैलीमा देखाएका छौं । त्यसैले काठमाडौंमा घर हुने र नहुने दुवैले चलचित्रको कथामा अपनत्व महसुस गर्नेछन् ।’ उनी चलचित्रले तिहार मूड सिर्जना गर्नेमा विश्वस्त छन् । तिहारमा हाँस्न चाहने दर्शकलाई चलचित्रले निराश नबनाउने उनी बताउँछन् ।

चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईले यस वर्ष प्रदर्शनमा आएका आफ्ना दुई फिल्म ‘कबड्डी ४’ र ‘दुई नम्बरी’भन्दा ‘के घर के डेरा’को सेटअप र चरित्र फरक रहेको बताए । उनले भने, ‘एउटामा हिमालको कथा थियो । अर्कोमा पहाडको सेटअप थियो भने यो चाहिँ काठमाडौंमा बेस्ड छ । यो चलचित्रको चरित्रको मनोविज्ञान नै फरक छ । त्यसैले दर्शकले चरित्रमा फरकपन पाउनेछन् ।’

उनले चलचित्रमा अभिनेता विपिन कार्कीसँग काम गर्दा अजिबको किस्साहरु भएको स्मरण गरे । ‘चलचित्र हेरिसकेपछि विपिनसँगका रमाइला किस्सा शेयर गर्दा झन बढी रमाइलो हुन्छ होला । फिल्ममा काम गर्दा ऊ चरित्रमा यसरी डुबेको हुन्थ्यो थियो कि कतिबेला उसले निर्देशनको अर्डर पनि बिर्सेर अभिनय गरिरहेको हुन्थ्यो । क्यामेरा अफ भएपछि पनि उसले काम गर्थ्यो,’ दयाहाङले भने ।

विपिन कार्की भने ‘पशुपतिप्रसाद’मा निर्वाह गरेको भष्मे डनको छविलाई ‘के घर के डेरा’को शंखे दादाले मेटाउनेमा आशावादी छन् । उनले चलचित्रको सेटमा आफू क्यामेरा अफ भएपछि पनि चरित्रबाट बाहिर निस्कन नसकेको अनुभव साटे । त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले धेरै चलचित्रमा निर्देशक दीपेन्द्र के. खनालसँग काम गरिसकेका कारण अहिले आँखा आँखाबाटै कुरा हुने बताइन् ।

चलचित्रमा वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu