कात्तिक ११ गतेदेखि ‘नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’ हुने



नेपालस्थित युरोपियन युनियनको डेलिगेशनको आयोजनामा नेपाल युरोपेली युनियन फिल्म फेस्टिभलको ११औं संस्करण काठमाडौं र कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । काठमाडौंको चलचित्र विकास बोर्डमा कात्तिक ११ देखि १५ गतेसम्म र सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा कात्तिक १९ देखि २२ गतेसम्म फेस्टिभल आयोजना हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

फेस्टिभलमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन गरिने नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले जानकारी दिइन् । उनका अनुसार, महोत्सव भौतिक र अनलाइन दुवै माध्यमबाट हुनेछ । नेपाल र युरोपबीच सांस्कृतिक अनुभव आदानप्रदान गर्न फेस्टिभल महत्वपूर्ण हुने आशा आफूहरुले लिएको उनको भनाई छ ।

१३ युरोपेली चलचित्रमध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी। रिहाहीले गर्ने निर्देशन गरेको ‘अस्कर एण्ड लिली’लाई नेपाली सब्टाइटलमा प्रदर्शन गरिने भएको छ । त्यस्तै, नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको ‘ऐना झ्यालको पुतली’सँगै ‘येट अनदर विन्टर’र ‘गोर्खा गल्र्स’ नेपाली चलचित्र महोत्सवमा देखाइनेछ ।

फिल्म स्क्रिनिङसँगै फिल्म निर्माणमा आर्काइभ अर्थात पुराना सामाग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारे छलफल समेत हुने भएको छ । फिल्मले वातावरण संरक्षणमा गर्न सक्ने योगदान र युरोपेली फिल्म निर्माणको अवस्था तथा नेपाली फिल्ममेकरबीच हुनसक्ने सम्भावित सहयोगबारे प्यानल छलफल हुनेछ ।

महोत्सवको ओपनिङ्ग चलचित्र ‘गड्स् अफ मोलेन्बीक’बाट हुनेछ । महोत्सव अन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग अन्तरक्रिया पनि आयोजना हुने युरोपियन युनियनले जानकारी गराएको छ । सुर्खेतमा ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी र फिल्मकमीहरुलाई कात्तिक २२ गते मास्टरक्लास दिने कार्यक्रम राखिएको छ । फेस्टिभलको ब्राण्ड एम्बेसडरमा अभिनेत्री केकी अधिकारी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu