कार्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरुष’को टिम यतिबेला देशव्यापी प्रचार-प्रसारमा व्यस्त छ । यसैक्रममा, शुक्रबार चलचित्रको टिमले चितवनका पत्रकारहरुसँग भेटघाट गर्यो । पत्रकारसँग चलचित्रका कलाकार तथा कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बाँनियाले ‘महापुरुष’को कथाको जन्मको रहस्य खोले ।

तीर्थस्थल देवघाटका एक ‘बा’को कथाबाट प्रभावित भएर ‘महापुरुष’को कथा जन्मिएको उनले बताए । बानियाँले भने, ‘देवघाटका एक एकल ‘बा’को सत्य घटनाबाट फिल्म प्रभावित छ । आमाको कथामा धेरै चलचित्र बनेको भए पनि ‘महापुरुष’ एउटा एकल बुबाको कथामा आधारित छ । चलचित्रमा उठान गरिएको कथावस्तुलाई बलियो बनाउन निकै मिहिनेत गरेका छौं ।’
लेखक तथा निर्देशक प्रदीप भट्टराईले परिवारसँगै रहेर पनि सन्तानले समय नदिँदा बुबा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा चलचित्रबाट देखाउन खोजिएको बताए । कलाकार हरिवंश आचार्यले ‘बलिदान’पछि ‘महापुरुष’मार्फत् गम्भीर भूमिकामा अभिनय गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । चलचित्रले हँसाउँदा हँसाउँदै रुवाउने र रुवाउँदा रुवाउँदै हँसाउने उनले बताए ।

म्याक्स दीपेश खत्री निर्माता रहेको चलचित्रमा हरिवंश र रविन्द्रसँगै गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ । दीपक बज्राचार्यले चलचित्र खिचेका हुन् ।