भर्सटायल अभिनेताको रुपमा चिनिएका अभिनेता विपिन कार्की अभिनीत नयाँ चलचित्र ‘के घर के डेरा’ दीपावलीको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनले चलचित्र ‘पशुपति प्रसाद’पछि निर्देशक दीपेन्द्र के. खनालसँग सहकार्य गरेकाले पनि उक्त चलचित्रप्रति अपेक्षा उच्च छ । ट्रेलर हेर्दा विपिनले एकपटक फेरि आफूलाई भिन्न चरित्रमा प्रस्तुत गरेको देखिन्छ ।
‘पशुपति प्रसाद’मा निभाएको भष्मे डनको चरित्रले उनलाई दर्शकमाझ चिनाएको थियो । अब उनी ‘के घर के डेरा’मा निर्वाह गरेको शंखे दादाको चरित्र आफ्नो नयाँ नाम बन्नेमा विश्वस्त छन् । विपिन भन्छन्, ‘मलाई विभिन्न चलचित्रको चरित्रको नामबाट दर्शकहरुले चिन्नुहुन्छ । त्यसमा ‘भष्मे डन’ पनि पर्छ । अब चाहिँ चलचित्र ‘के घर के डेरा’को शंखे दादाको चरित्रबाट पनि चिन्नुहुन्छ भन्ने लाग्छ ।’

शंखे दादाको चरित्रबाट आफूले लकडाउनमा केही गर्न नपाउँदाको भडास निकालेको उनको भनाई छ । आफ्नो चरित्रको बारेमा विपिन अगाडि भन्छन्, ‘यसअघि मेरा चरित्रलाई जसरी रुचाइयो, शंखे दादालाई पनि दर्शकहरुले मन पराउनुहुन्छ भन्ने लाग्छ । मेरो क्यारेक्टरले एकदमै ह्यूमर बोकेको छ । मलाई बोलाइने विभिन्न उपनामहरुमा अब शंखे दादा पनि थपिनेमा विश्वस्त छु ।’
उनी ‘के घर के डेरा’लाई घर-घरको कथा भन्न रुचाउँछन् । अहिलेको सिनारियोमा कमेडी, ह्यूमर र सोसल ड्रामालाई दर्शकहरुले अत्याधिक रुचाइएका कारण यी सबै कुराको समिश्रण चलचित्रमा रहेकाले सफल हुने उनको विश्वास छ । चलचित्रमा उनको श्रीमतीको भूमिकामा नायिका वर्षा राउतले अभिनय गरेकी छन् । वर्षासँग फेरि एकसाथ काम गर्न पाउँदा रमाइलो भएको विपिन बताउँछन् ।