‘नेपाली फिल्मलाई बचाउने प्रयास हो हप्तादिन अघि विदेशी फिल्मको सेन्सर’



काठमाडौँ।
संसारमा यदि कुनै देशमा सबैभन्दा सजिलोसँग फिल्मको सेन्सर हुन्छ भने त्यो नेपाल हो । नेपालमा सेन्सर पास नभइ फिल्मको अग्रिम बुकिङ मात्र खुल्दैन, प्रदर्शन समेत हुँदै आएका छन् । चलचित्र विकास बोर्डको नियम अनुसार फिल्मको सेन्सर नभइ बुकिङ खोल्न र प्रदर्शन गर्न पाईँदैन तर, प्रदर्शक र वितरकहरुले यो नियमलाई सहज स्विकार गरेका छैनन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विदेशी फिल्म नेपाल ल्याउने र रातारात सेन्सर गरेर प्रदर्शन गर्ने वितरक र प्रदर्शकको मनमौजी प्रवृतिको अन्त्य गर्न कस्सिएका छन् । यस बिषयमा केसीको पहिलो प्रयास हो, फिल्म प्रदर्शनको एक हप्ता अगाडि सेन्सर स्वीकृति लिनुपर्ने निर्णय । केहि हप्ता अघि बोर्ड अध्यक्ष, सञ्चार मन्त्रालयका सह-सचिव तथा बोर्ड सदस्यहरुको बैठकले आगामी कार्तिक १ गतेबाट लागू हुने गरी यो निर्णय गरि सुचना प्रकाशित गरेको थियो ।

बोर्डको यो निर्णयलाई अधिकांश फिल्मकर्मीले स्वागत गरेका छन् । तर, केहि विदेशी फिल्मका नेपाली वितरक र हल संचालकहरु भने बोर्डको यो निर्णय जस्ताको तस्तै लागु गर्न असहज मानिरहेका छन् । बोर्ड अध्यक्ष भुवन केसी भने एक हप्ता अगाडि सेन्सर स्वीकृति लिनुपर्ने निर्णय देश र जनताको हितमा रहेको बताउँछन् । यसले आगामी दिनमा हुनसक्ने सम्भावित दुर्घटनाबाट बचाउन सक्ने उनको भनाई छ ।

केसी भन्छन्, ‘अहिले कस्तो अवस्था छ भने फिल्म हलमा चलिसक्यो, दर्शकले टिकट पनि किनिसके तर सेन्सर चाहिँ भएको छैन । सेन्सर नै नभइ फिल्म प्रदर्शन हुँदा राष्ट्रलाई अघात पुग्ने, चेटीबेटीको अस्मितामा आँच पुग्ने, धर्म-संस्कृतिमा दख्खल पर्ने खालको दृश्य भए ठूलो दुर्घटना हुन सक्छ भन्ने कुरालाई मध्यनजर गरेर एक हप्ता अगाडि नेपाली र विदेशी फिल्मको सेन्सर गर्नुपर्ने निर्णय बोर्डले गरेको हो ।’

सेन्सरबीना टिकट बुकिङ खुलेर प्रदर्शन आयो र फिल्मको कुनै आपत्तिजनक दृश्य सेन्सरले रोक्नु पर्‍यो भने हलमा ठूलो दुर्घटना हुन सक्ने अध्यक्ष केसीको तर्क छ । सेन्सर नभइ फिल्म प्रदर्शन हुँदा कुनै आपत्तिजनक दृश्यमा दर्शक आक्रोशित भएर अकल्पनिय घटना समेत हुन सक्ने उनले बताए । बोर्ड फिल्म क्षेत्रको हकहितका लागि बनेकाले यो निर्णय कसैलाई चेप्न र पेल्नका लागि नभएको पनि उनले स्पष्ट पारे ।

अध्यक्ष केसीले अगाडि भने, ‘हाम्रा देशका फिल्म पनि विदेशमा एक दुई महिना अगाडि सेन्सर गर्नुपर्छ । सेन्सरको झन्झटले नै हाम्रा फिल्म विदेशमा नियमित रुपमा हलमा प्रदर्शन हुन सकेका छैनन् । फिल्मको सेन्सर गर्न संसारकै सबैभन्दा सहज देश नै नेपाल बनेको छ । त्यति छुट हुँदा हुँदै पनि कुनै व्यापारीले एक हप्ता अगाडि फिल्म किन्दा महंगो पर्छ, घाटा हुन्छ, एक हप्ता अगाडि सेन्सर स्वीकृति लिनुपर्ने निर्णय मान्दैनौं भन्छ भने एउटा व्यापारीलाई फाइदा गर्न बोर्ड बनेको होइन । यो निर्णय कुनै व्यापारीलाई लक्षित गरेर नभइ देश र जनताको हितका लागि गरिएको हो ।’

बोर्डले फिल्म प्रदर्शनको एक हप्ता अगाडि सेन्सर स्वीकृति लिनुपर्ने निर्णय गरेपछि प्रदर्शक र विदेशी फिल्मका वितरकहरुले केसीलाई असहयोग गर्ने सम्भावना छ । तर, फिल्म क्षेत्रलाई व्यवस्थित गर्न खोज्दा विरोध र आन्दोलन हुन्छ भने सम्पूर्ण फिल्मकर्मी र तीन करोड नेपालीले बोर्डलाई साथ दिने अध्यक्ष केसी बताउँछन् । प्रदर्शनको एक हप्ता अगाडि सेन्सर स्वीकृति लिनुपर्ने निर्णयले केही हदसम विदेशी फिल्मको चपेटाबाट नेपाली फिल्मलाई राहत पनि मिल्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu