नेपाल सरकारका बिशिष्ट व्यक्तिहरुले हेरे ‘नालापानी’, चलचित्र अति बिशेष रहेको टीप्पणी



काठमाडौँ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर बनेको चलचित्र ‘नालापानी’लाई संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरद प्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगाएतले हेरेका छन् । कार्तिक ४ गते देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रको आइतबार चलचित्र विकास बोर्डको हलमा झण्डै असी जना बिशिष्ट व्यक्तित्वहरुमाझ बिशेष प्रदर्शन गरिएको थियो ।

चलचित्र हेरिसकेपछि आफ्ना भनाई राख्दै सचिव अर्यालले परम्परागत मसलेदार चलचित्रहरु बनिरहेको समयमा ऐतिहासिक बिषयबस्तुमा आधारित रहेर यथार्थपरक चलचित्र बनाएकोमा निर्माता तथा निर्देशक रिमेश अधिकारी र टीमलाई बधाई दिँदै नेपालको इतिहासबारे प्रष्ट हुन हरेक नेपालीले यो चलचित्र हेर्नुपर्ने बताए । उनले भने, ‘नेपाल यत्तिकै बनेको हो कि क्या हो भन्ने सोच्छौँ । हाम्रा पुर्खाले कसरी त्याग, बलिदान गरेका रहेछन् भन्ने यथार्थ चित्रण छ । हाम्रो नेपाल निर्माण हुँदा के कस्तो दुख र समस्याहरुबाट गुज्रेका थियौँ भनेर जान्नको लागि पनि नालापानी हेर्न जरुरी छ ।’ निर्माणको क्रममा नेपाली सेनाले गरेको सहयोग पनि राज्यको नै सहयोग रहेको बताउँदै अर्यालले संचार मन्त्रालयले यो चलचित्रलाई करछुटको लागि सम्बन्धित निकायमा औपचारिक रुपमा पत्राचार नै गरेको बताए । उनले यो चलचित्रको कारण बिशेष चलचित्रहरुलाई दिन सकिने सुविधाको बिषयमा छलफल सुरु भएको जनाए ।

पूर्व प्रधानसेनापति क्षेत्रीले ‘नालापानी’ उत्कृष्ट बनेको बताए । उनलेले भने, ‘नेपाललाई स्वाधिन राख्न हाम्रा वीर र वीरंगानाहरुले त्यो समयमा दिएको बलिदानको जीवन्त चित्रण यो चलचित्रले गरेको छ । चलचित्रमा देखाईएको महिला र बालबालिकाले समेत युद्द लडेको यथार्थ हो । अहिले इतिहासलाई अवमुल्यन गरिराखेको अवस्थामा यो चलचित्रको माध्यमबाट नेपाल र नेपाली जनताले फेरी एकपटक हामी स्वाभिमान छौं भन्ने अवसर यो चलचित्रले प्रदान गरेको छ ।’ क्षेत्रीले आफु प्रधानसेनापति रहेकै समयमा यो चलचित्र बनेको र त्यसमा नेपाली सेनाले पूर्ण सहयोग गरेको जिकिर गरे ।

पूर्वसचिव उपाध्यायले अहिले सस्तो रुपमा बुझ्ने गरेको नेपालको स्वाभिमान हाम्रो पुर्खाको रगतले जोगिएको हो भन्ने कुरा यो चलचित्रले सम्झाउने बताए । ‘चलचित्रमा समावेश शत्रुले पनि प्रशंसा गरेको कुराले मन छोयो । सबै नेपालीले एकपटक हेर्नैपर्छ । यो चलचित्र धेरै अनुसन्धान गरेर बनाईएको छ । पुस्तकमा पढ्दा यतिधेरै विस्तारमा पढिएको थिएन । यो चलचित्र बनाउने आँट देखेर म दंग छु’, उपाध्यालले प्रतिक्रिया दिए ।

हाम्रो राष्ट्रियता संरक्षणको लागि हाम्रो इतिहास महत्वपूर्ण हुने बताउँदै केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेलले राष्ट्र र राष्ट्रियताको जगेर्ना हामीले कसरी गर्न सक्छौँ भन्ने कुराको शिक्षा यो चलचित्रले दिएको उल्लेख गरे ।

चलचित्र हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थले सरकारले बनाउनुपर्ने चलचित्र व्यक्तिले बनाएको सन्दर्भमा सरकारले ट्याक्स फ्रि गर्नुपर्ने बताए । प्रदर्शकहरुले सँधै यस प्रकारका चलचित्रलाई प्राथमिकतामा राखेको बताए ।

स्टक मार्केटका लगानीकर्ता छोटेलाल रौनियारले राज्यले प्रोत्साहनस्वरुप यो चलचित्रलाई कर छुट दिइनुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu