अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलका छोरा अथर्व उप्रेतीले चलचित्रमा डेब्यू गर्ने भएका छन् । यही बिहीवारबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘नाईं नभन्नू ल ६’मा उनले बाल कलाकारको रुपमा अभिनय गर्न लागेका हुन् । चलचित्रमा उनी नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् ।
अथर्वको दशैं र तिहारको विद्यालय विदा पारेर निर्देशक विकासराज आचार्यले चलचित्रको छायांकन सुरु गर्न लागेका हुन् । प्राप्त जानकारी अनुसार, निर्देशक आचार्यले सिधै अथर्वसँग चलचित्रको कुरा गरेका थिए । उनले पनि अभिनय गर्ने इच्छा देखाएपछि निखिल र सञ्चितासँगको सहमतिमा आचार्यले अथर्वलाई ‘नाईं नभन्नू ल ६’मा अभिनय गराउन लागेका हुन् ।

‘नाईं नभन्नू ल’को दोस्रो श्रृंखलादेखि अनुभव रेग्मी बाल कलाकारको रुपमा देखिँदै आएका थिए । तर, अहिले उनी हर्लक्क बढेका कारण निर्देशक आचार्य नयाँ बाल कलाकारको खोजीमा थिए । यसैक्रममा उनको आँखा निखिल र सञ्चिताको छोरामा गएको थियो । ‘स्टार किड्स’ अथर्वको प्रवेश भएसँगै ‘नाईं नभन्नू ल ६’को प्रतिक्षा दर्शकमा थप बढेको छ ।
यो चलचित्रमा अभिनेत्री आँचल शर्माको जोडीको रुपमा आर्शिवाद देखिनेछन् । चलचित्रमा अनुभव रेग्मीको केमियो भूमिका रहनेछ भने योगिशा खत्रीसहित अन्य बाल कलाकारको पनि अभिनय रहने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई कात्तिकमा छायांकन गरेर आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।