नम्रताले ‘प्रसाद २’ नगर्ने, केकीलाई अफर



निर्देशक र कलाकार हेरफेर गर्दै गत असारमा चलचित्र ‘प्रसाद २’को निर्माण घोषणा गरिएको थियो । निर्देशकमा सौरभ चौधरीको ठाउँमा सुदर्शन थापा र कलाकारमा निश्चल बस्नेतको स्थानमा अर्पण थापालाई अनुबन्ध गरिएको थियो भने अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ यथावत् थिए । घोषणापछि केही दिन वर्कसप गरेर चलचित्रको टिम छायांकनका लागि कास्कीको एक गाउँमा पुगेको थियो ।

तर, छायांकन सुरु हुने समयमा विपिन र निर्माता सुभाष थापाबीच पारिश्रमिकको विषयमा लफडा उत्पन्न भएपछि छायांकन हुन सकेन र टिम काठमाडौं फिर्ता भयो । काठमाडौं फर्किएपछि विपिनले निर्माता र निर्देशक परिवर्तन नभएसम्म चलचित्रमा कामै नगर्ने अडान लिएका थिए । तर, निर्माता थापाले चलचित्र निर्माता संघमा छायांकनको वातावरण मिलाइदिन भन्दै निवेदन दिएपछि संघले यसै साता कलाकार, निर्माता र निर्देशकलाई राखेर विवाद टुंग्यायो । संघले आगामी मंसिर पहिलो साताबाट छायांकन गर्ने गरी तीनैजनासँग लिखित सहमति गराएको छ ।

तर, विपिन चलचित्र खेल्न राजी हुँदा निर्मातालाई अर्को तनाव आइपरेको छ । चलचित्रका लागि मुख्य भूमिकामा अनुबन्ध भएकी अभिनेत्री नम्रता श्रेष्ठले अब काम गर्न नभ्याउने भएकी छन् । आफ्नो अर्को चलचित्र ‘ग्रहण’सँग सेड्युल जुघ्ने भएपछि उनले सहमतिमै ‘प्रसाद २’बाट हात झिकेकी छन् । उनले चलचित्रमा काम गर्न नभ्याउने भएपछि अभिनेत्रीको खोजी गर्दै निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकी अधिकारीसम्म पुगेका छन् ।

केकीले आफूलाई ‘प्रसाद २’बाट अफर आएको स्वीकार गरेकी छन् । उनले भनिन्, ‘हो, मलाई चलचित्रबाट अफर भएको छ । अहिले म स्क्रिप्ट अध्ययनकै चरणमा छु । समय र अरु कुरा मिलेको खण्डमा काम गर्न सक्छु । केही दिनमा यसबारेमा टुंगो लाग्न सक्छ ।’ उनले समय व्यस्तताले नम्रता श्रेष्ठले चलचित्रमा काम गर्न नसकेका कारण आफूले गर्दा कुनै समस्या नहुने पनि बताएकी छन् । एउटा कलाकारले नभ्याउँदा अर्को कलाकारले काम गर्नु सामान्य कुरा रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu