‘म बोर्ड अध्यक्ष थिएँ भने प्रेम गीत ३ लाई नेपालमा हिन्दीमा चल्न दिने थिईन’- पूर्वअध्यक्ष राई



काठमाडौँ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले कुनै चलचित्रले आधुनिकता तथा बजार खोजेको वा विस्तार गरेको भन्दैमा राज्यको नीति र भाषा-संस्कृतिलाई बीचबाट नहेर्ने हो भने नेपाली चलचित्र उद्योग नै नरहेने बताएका छन् ।

राईले हालै हिन्दी भाषामा समेत रिलिज भएको चलचित्र ‘प्रेम गीत ३’लाई नेपालमा नेपाली चलचित्र सरह हिन्दी भाषालाई मान्यता दिएकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘प्रेम गीत ३ ले राम्रो गरेको छ, बजार खोजको छ त्यसमा उनिहरु धन्यवादको पात्र छन् तर, नेपालमा हिन्दी भाषामा डबिङ्ग गरेर नेपालमै हामीले हेर्नुपर्ने बाध्यता नियमले मिल्दैन । अहिले म चलचित्र विकास बोर्डको अध्यक्ष थिएँ भने मैले यो चलचित्रलाई हिन्दीमा नेपालमा चल्न दिने थिईन ।’

बुधबार काठमाडौँमा परिवर्तन नेपालले आयोजना गरेको नेपाल चलचित्र निर्माता संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा राईले बंगलादेश, पाकिस्तान र श्रीलंकाका चलचित्र उद्योगहरुलाई भारतले सिध्याएको आरोप राईले लगाए । नेपाल चलचित्र निर्माता संघका पूर्वअध्यक्ष समेत रहेका उनले भने, ‘आज पाकिस्तान, बंगलादेश र श्रीलंकाको चलचित्र उद्योग कहाँ छ तपाईंलाई थाहा छ ? भारतले ‘कोल्याप्स’ गरिसक्यो, अब नेपाली चलचित्रको पालो आएको छ । यो कुरा नेपाली चलचित्रकर्मीले बुझ्नुपर्छ ।’

निर्माता संघका अध्यक्ष नवल खड्काले विदेशी चलचित्रलाई सात दिन अगावै सेन्सर सिफारिस लिनुपर्ने नियममा समर्थन गरे । कार्यक्रममा उपस्थित चलचित्र हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थतर्फ इंगित गर्दै खड्काले भने, ‘तपाईंहरु भर्खरै संचार मन्त्रालय पुगेर नियम हटाउनु पर्ने माग राखेर आउनुभएको छ, त्यसमा मेरो विमती छ । तपाईंहरुका समस्या पनि चलचित्र विकास बोर्डले सुन्नुपर्छ तर, यो नियम हटाउन हुँदैन ।’

परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले चलचित्रले राष्ट्र र राष्ट्रियता साथै भाषाको जगेर्ना गर्ने भएको हुँदा त्यसमा खेलवाड हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu