भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरूष’बाट अरुण क्षेत्री र अञ्जना बराईलीले डेब्यु गर्दैछन् । बाल्यकालदेखी नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठूलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेका छन् ।
‘मलाई डर नलागेको होइन । तर, मैले त्यसलाई आत्मविश्वासमा बदलेँ । उहाँहरूको आशिर्वाद लिएर डेब्यु गर्न पाउँदाको खुसी व्यक्त गर्ने शब्दनै मसँग छैन’, अरुणले भने । उनी फिल्ममा अडिसनमार्फत् सेलेक्ट भएका हुन् । जापानबाट अभिनयमा आफ्नो भविष्य देखेर नेपाल फर्किएका अरुणले निर्देशक प्रदीप भट्टराईसँग काम गर्ने योजना बनाएका थिए । तर उनको भेट हुन सकेको थिएन । उनले निर्देशक भट्टराईसँगै रबिन्द्र सिंह बानियाँलाई सम्पर्क गर्न प्रयास गरे । ‘त्यो समयमा उहाँहरूको ‘जात्रै जात्रा’ रिलिज हुँदै थियो । त्यसैले पनि भेट भएन । अहिले उहाँको चलचित्रबाट डेब्यु गर्ने अवसर पाएँ’,अरुणले भने ।

मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना पनि अडिसनमार्फत् छानिएकी हुन् । उनी चलचित्रमा प्रतिष्ठाको भूमिकामा छिन् । ‘मैले केही चलचित्रमा अडिसन पनि दिएकी थिएँ । एक चलचित्रमा छनोट पनि भएको थिएँ । तर, त्यो चलचित्र बनेन । ‘महापुरूष’को अडिसन हुँदैछ भन्ने सुनेपछि म पनि सहभागी भएँ । मेरो भाग्य बलियो रहेछ भनौं, मह जोडीसँग काम गर्ने सौभाग्य पाएँ,’ उनी खुसी भावमा भन्छिन् ।
मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा आफूले धेरै कुरा सिक्न पाएको उनको भनाई छ । ‘म चलचित्र क्षेत्रका लागि विल्कुलै नौलो मान्छे हुँ । मलाई रबिन्द्र दाई र प्रदीप दाईले राम्रोसँग मार्गनिर्देशन गर्नुभयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो । अब म आफ्नो अभिनयको प्रतिक्रिया दर्शकबाट बुझ्न आतुर छु । मनमा डर र उत्साह दुवै छ,’ अञ्जनाले भनिन् ।
अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका बानियाँले बताए । ‘हामीलाई चाहिएको कलाकार उहाँ दुईमा पायौँ । अडिसनमा दिइएको उहाँको प्रस्तुतिले प्रभाव छाड्यो । धेरैको अडिसन लिएता पनि भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ’, बानियाँले भने । आफूहरूले दया वा मायाले भन्दा पनि कलाकारिता हेरेर दुई नयाँ अनुहारलाई डेब्यु गराउने निर्णय लिएको उनका् भनाई छ ।
अडिसनबाट चलचित्रमा छानिए पनि अरुण र अञ्जनालाई वर्कशपमा भने केही समस्या भएको थियो । चलचित्रको क्यारेक्टरमा बाँच्न उनीहरूले समय लिएका थिए । तर, चलचित्रमा उनीहरुको अभिनयमा समस्या नदेखिने निर्देशक भट्टराई बताउँछन् । ‘हामीले नयाँ प्रतिभालाई स्थान दिनुपर्छ भनेर नै अडिसनमार्फत् खोजेका हौँ । नयाँपुस्ताको कथा नयाँमार्फत् नै भन्न खोजेका छौँ’, उनले भने ।
सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण भएको चलचित्रमा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ । ‘महापुरूष’मा प्रदीप भट्टराईको निर्देशन र लेखन छ ।