असोजको २१ गतेबाट रिलिज भएको चलचित्र ‘२ नम्बरी’ शुक्रवारबाट तेश्रो सातामा प्रवेश गरेको छ । तेश्रो सातामा पनि मल्टिप्लेक्समा यो चलचित्रले राम्रो शोज पाइरहेको छ । दुई सातामा सुखद कमाई गरेको चलचित्रलाई दर्शकले पनि माया दिइरहेका छन् ।
यसैविच, यो चलचित्रका मेकरले ल्वाङ गाउँमा पुगेर चलचित्र देखाएका छन् । यो चलचित्र कास्कीको ल्वाङ गाउँमा खिचिएको हो । तर, यो गाउँका बासिन्दाले हल नभएका कारण चलचित्र हेर्न पाएका थिएनन् । ल्वाङ गाउँका २ सयभन्दा बढी स्थानीयलाई प्रोजेक्टरबाट चलचित्र देखाइएको हो ।

चलचित्र देखाउन निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका थिए । चलचित्रको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीयले उत्साह व्यक्त गरेको निर्माता नेपालीले बताए । उनले भने–‘चलचित्र हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र चलचित्र देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण चलचित्रको छायांकन गर्न सहज भएको थियो ।’
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, वुद्दि तामाङ, पुकार गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, सुष्मा निरौला, कविता आले, प्रकाश घिमिरे, स्वर्गीय जयनन्द लामालगायतको अभिनय रहेको छ । चलचित्रमा दयाहाङ र सौगातको केमेस्ट्रीलाई दर्शकले सर्वाधिक रुचाएका छन् । यो चलचित्रले २ सातामा ६ करोड माथिको ग्रस कलेक्शन गरेको बताइएको छ ।