दीपकराज देखि सुहानासम्मले जिते ग्लोबल नेपाली फिल्म अवार्ड



नेपाली डायस्पोराको अवार्ड ‘ग्लोबल नेपाली फिल्म अवार्ड एण्ड फिल्म फेस्टिभल’को पाँचौ संस्करण ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड एण्ड फिल्म फेष्टिवल -२०२२’ अमेरिकाको कोलोराडोस्थित डेनभर शहरमा सम्पन्न भएको छ ।

उक्त अवार्डमा सहभागी हुन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बिशिष्ठ चलचित्रकर्मी नीर शाह, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ अभिनेताद्वय शिव श्रेष्ठ, सुनिल थापा, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, सरिता लामिछाने, अभिनेत्रीद्वय झरना थापा र सुहाना थापा, बरिष्ठ लोकगायक राम प्रसाद खनाल, उद्घोषिकाद्वय रिमा विश्वकर्मा र निशा पाठक लगायत नेपालबाट पुगेका थिए । साथै, अमेरिकामा नै रहने दर्जनौ नयाँ पुराना कलाकारहरुको उपस्थिति थियो ।

यो अवार्ड ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रुपमा आयोजना गरेको थियो ।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पारेका थिए । उनले यो अवार्डको गरिमा जोगाउन आफुले कुनै कसुर बाँकी नराखेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले आगामी बर्षहरुमा निरन्तर भब्य अवार्ड कार्यक्रम गर्दै लैजाने र अवार्डको गरिमालाइ उच्च बनाउने बताए ।

चलचित्र ‘ए मेरो हजुर ३’सर्वोत्कृष्ट फिल्म बन्यो भने सोहि चलचित्रकी अभिनेत्री सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितिन् । त्यस्तै, निर्देशक झरना थापाले पनि सोहि चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड लिइन् । त्यसैगरी, चलचित्र ‘मारुनी’ले जुरी अवार्ड हात पार्यो ।

चलचित्र‘रातो टीका निधारमा’बाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता, सर्वोत्कृष्ट अभिनेत्री ‘आमा’बाट सुरक्षा पन्त, ‘छ माया छपक्कै’बाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे । अभिनेत्री नम्रता श्रेष्ठलाई ‘स्टार अफ दी इयर’ घोषणा गरियो । डायस्पोरातर्फ उत्कृष्ट डेब्यु अभिनेता शक्ति श्रेष्ठ र सुधांशु जोशी उत्कृष्ट अभिनेता बने भने उत्कृष्ट चलचित्र ‘हेलो जिन्दगी’बन्यो ।

समारोहमा शम्भुजित बासकोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । साथै, रामकेशर बोगटी स्मृति सम्मान अभिनेत्री सरिता लामिछाने र गेहेन्द्र धिमाल स्मृति सम्मान नाट्यकर्मी हरिबहादुर थापालाई प्रदान गरिएको थियो । अभियानश्री सम्मान प्रकाश श्रेष्ठ र हिरण्य भोजपुरेलाई प्रदान गरियो । भुटानी कला सम्मान सिद्धार्थ विश्व र लक्षु शर्मालाई प्रदान गरियो । त्यसैगरी बिशेष सम्मान सुनिल पाठकलाइ गरिएको थियो भने कृष्ण सुनार, मिस नेपाल नर्थ अमेरिका प्रत्युषा बोहरा र रनरअप आन्या थापालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu