हरेक चलचित्रमा फरक फरक भूमिका निर्वाह गरेर आफूलाई भर्सटायल अभिनेत्रीको रुपमा स्थापित गरेकी सुरक्षा पन्त अभिनीत नयाँ चलचित्र ‘के घर के डेरा’ तिहारको छेको पारेर शुक्रवारबाट प्रदर्शनरत छ । काठमाडौंमा घर हुने र डेरामा बस्नेहरुको समस्यामाथि निर्माण भएको यो चलचित्रमा सुरक्षाले डेरामा बसेर काठमाडौंमा घर किन्ने सपना बोकेको पात्रको रुपमा अभिनय गरेकी छन् ।
डबिङमा आफ्नो भागको सिन हेरेकी सुरक्षाले शुक्रवार अभिनेत्री वर्षा राउतको साथमा दर्शकसँगै बसेर पूरा चलचित्र हेरिन् । चलचित्र हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू दर्शक भएर हेर्दा चलचित्र अत्यन्त रमाइलो बनेको प्रतिक्रिया दिइन् । दर्शकहरु पनि चलचित्र हेर्दा रमाएको देख्दा खुसी लागेको उनी बताउँछिन् । उनले चलचित्रको कमजोरी पक्ष पनि औंल्याएकी छन् ।

उनी भन्छिन्, ‘चलचित्रमा इमोसन, कमेडी, ह्यूमर सबै कुरा छ । मलाई चलचित्र हेरिरहँदा सम्पादन अलि टाइट भइदिए हुन्थ्यो जस्तो लागेको थियो । यसप्रकारको जनराको चलचित्र हेरिरहेका कारणले पनि थोरै लामो भएको होकि भन्ने लागेको थियो । तर, दर्शकल त इन्जोय गरिरहनु भएको थियो ।’ पुरुष पात्रभन्दा वर्षा र आफूले कम स्क्रिन स्पेश पाएकोमा पनि सुरक्षाले असन्तुष्टि जनाएकी छन् ।
‘चलचित्रमा हाम्रो स्क्रिन स्पेश धेरै छैन, जति पुरुष पात्रलाई दिइएको छ । तर, सान सानै रोल भए पनि हामीले न्याय गरेका छौं जस्तो लागेको छ,’ उनले भनिन् । निर्देशक दीपेन्द्र के. खनालसँग यसअघि केही चलचित्रमा काम गरिसकेकी सुरक्षाले ‘के घर के डेरा’लाई निर्देशक खनालले स्क्रिप्टभन्दा स्क्रिनमा अझ बढी मिठास् बनाएको बताएकी छन् ।