कलाकारले हरिवंश आचार्यले चलचित्र, नाटक र महोत्सवमा कयैन् चरित्र बाँचेका छन् । तीमध्ये उनलाई सधैं सम्झाउने चलचित्र ‘बलिदान’को भूमिका हो । यस चलचित्रमा उनले गम्भीर भूमिका निर्वाह गरेका थिए । कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरूष’मा निर्वाह गरेको चरित्र भने उनी ‘बलिदान’पछिको सशक्त र गम्भीर रहेको बताउँछन् ।
‘मैले ‘बलिदान’पछि गम्भीर रहेर आफ्नो अभिनय देखाउन पाएको छु । मलाई प्रायः यस्ता भूमिका अफर हुँदैनन् । मलाई झैँ दर्शकलाई पनि यो उत्कृष्ट लाग्ने विश्वास छ’, आचार्यले भने । चलचित्रमा उनले एकल अभिभावकको भूमिका निर्वाह गरेका छन् । चलचित्रले हँसाउदा हँसाउदै रुवाउने र रुवाउँदा रुवाउँदै हँसाउने उनी बताउँछन् । ‘म काठमाडौं बाहिरका सात सहर समेत घुमेर फर्किएको छु । दर्शकले कन्टेन भएको मनोरन्जनात्मक चलचित्र हेर्न चाहेका छन् । उहाँहरूको लागि ‘महापुरूष’ पर्फेक्ट चलचित्र हुनेछ’, उनले भने ।
‘महापुरूष’को ट्रेलर सार्वजनिक भएपछि धेरैले हरिवंशकै जीवनबाट चलचित्र प्रभावित रहेको प्रतिक्रिया जनाएका छन् । किनकि, चलचित्रमा उनलाई बुढ्यौली उमेरमा विवाह गर्न खोजेको पात्रको रुपमा चित्रण गरिएको छ । हरिवंशले पनि वास्तविक जीवनमा पहिलो श्रीमतीको निधनपछि बढ्यौली उमेरमा दोस्रो विवाह गरेका थिए ।

तर, आचार्य चलचित्रको कथा आफ्नो जीवनसँग नमिल्ने स्पष्ट पार्छन् । ‘चलचित्रको ट्रेलर हेर्दा मेरै जीवनसँग मेल खाएको जस्तो देखिए पनि त्यस्तो होइन । उमेर ढल्केपछि विवाह गरेको भाग मात्र मिल्छ र मलाई दोस्रो विवाह गर्दा छोरा-छोरी सबैले साथ दिएका थिएँ । चलचित्रमा असहयोग गरेको देखाइएको छ । चलचित्रमा सन्तानले बुवा-आमालाई बुझ्नु पर्छ भन्ने देखाउन खोजेका छौँ,’ उनले भने ।
दोस्रो विवाहपछि आफू पुनः अभिनयमा फर्किन सकेको हरिवंश सम्झन्छन् । ‘श्रीमतीको साथले काममा फर्किन सकेको हुँ । विवाह गर्नै पर्ने थियो र समयमै गरेँ । नगरेको भए पछुताउने रहेछु,’ उनले अगाडि भने, ‘विवाह गरेपछि मेरो जीवन सहज भयो । मेरो छोराहरूले आमा पाए, मैले जीवनसाथी पाएँ । अहिले जीवन अत्यन्त सजिलो भएको देखेर दोस्रो विवाह गरेकोमा पछुतो लाग्दैन ।’
चलचित्रले उठान गर्न खोजेको विषय र त्यसलाई बुनिएको पटकथाले आफू प्रभावित भएको उनको कथन छ । उनले निर्देशक प्रदीप भट्टराईलाई सरल प्रस्तुतिमा कथा भन्न सक्ने निर्देशकको रुपमा तारिफ गर्दै अगाडि भनेका छन्, ‘प्रदीप भाईले कथा सुनाउँदा यो भन्नु पर्ने कथा हो भन्ने लाग्यो । चलचित्रले नेपाली समाजको नै कथा भन्छ ।’ चलचित्रको कथाले दर्शकलाई छुने आचार्यको विश्वास छ ।
निर्देशक भट्टराईकै लेखन रहेको चलचित्रमा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय छ । यही चलचित्रबाट अरुण क्षेत्री र अञ्जना बराईली डेब्यु गर्दैछन् ।